काठमाडौं – सरकारले संघीय संरचना अनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समायोजन अझै टुंग्याउन सकेको छैन। स्वास्थ्य सेवा अन्तर्गतको कर्मचारी समायोजनमा समस्या आएपछि सरकारले समस्या समाधान समिति बनाउने भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ‘समस्या समाधान समिति’ बनाउने निर्णय गरेको हो। उक्त निर्णय अनुसार सामान्य प्रशासन मन्त्रालयले स्वास्थ्य मन्त्रालयलाई समितिमा राख्ने प्रतिनिधिको नाम तोक्न पत्र पठाएको छ। समितिमा स्वास्थ्य र सामान्य गरी दुईवटै मन्त्रालयका कर्मचारीहरु रहने बताइएको छ।
स्वास्थ्य मन्त्रालय अन्तर्गत सरकारले २७ हजार ३ सय २ जना कर्मचारीको समायोजन गरिएको छ। तर, उक्त समायोजनमध्ये १३ हजारभन्दा बढीले गुनासो दर्ता गराएका छन्।
सामान्य प्रशासन मन्त्रालयले समायोजनमा असन्तुष्टी जनाउँदै परेका उजुरीका निवेदनहरुलाई पहिला विश्लेषण गरिसकेपछि समाधान समितिले काम अगाडि बढाउने जनाएको छ। ‘पहिला उजुरीलाई एक÷एक गरी केलाउनेछौं अनि त्यसपछि समिति बनाएर काम अगाडि बढाउने छौं,’ सामान्य प्रशासन मन्त्रालयका एक कर्मचारीले भने।
स्वास्थ्यका कर्मचारी समायोजनमा त्रुटि भएको भन्दै स्वास्थ्यका ८ वटा संगठनले संयुक्त रुपमा ज्ञापन पत्र बुझाइसकेका छन्।
समायोजनमा समस्या भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता महेन्द्र श्रेष्ठ पनि स्विकार गर्छन्। समायोजनको समस्या समाधान नभएसम्मका लागि मन्त्रालयले कर्मचारीलाई पुरानै ठाँउमा बसेर सेवा दिन निर्देशन दिएको छ।