काठमाडौं- हुम्लाको ताजाकोट गाउँपालिकामा रुघाखोकीका बिरामीको उपचार सुरु भएको छ ।
कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालय, कर्णाली प्रदेश, प्रदेश स्वास्थ्य निर्देशनालय सुर्खेतबाट चिकित्सक डा. तेजराज भट्टराई, हेल्थ असिष्टेन्ट बलभद्र यादव, ल्याव असिष्टेन्ट धर्म अधिकारीको टोली आवश्यक औषधी र नमूना संकलन गर्ने समाग्रीसहित नेपाली सेनाको हेलिकप्टरबाट प्रभावित स्थलमा पुगेपछि उपचार सुरु भएको हो ।
स्वास्थ्य सेवा विभाग, इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (इडिसिडी) का निर्देशक डा विकेककुमार लालले उपचार साम्रगीसहित ताजाकोट पुगेको चिकित्सकीय टोली केही समयअघिबाट उपचार सुरु गरेको जानकारी दिए .
उनले भने,‘थप चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली आवश्यक औषधी र स्वास्थ्य शिक्षा समाग्री सहित प्रभावित स्थलमा परिचालन हुने तयारी अवस्थामा रहेको छ ।’
इडिसिडीले हाल स्थिति नियन्त्रणमा रहेको र पुरै गाउँ नै प्रभावित हुने गरी प्रकोपको अवस्था नरहेको स्पष्ट पारेको छ । ताजाकोट गाउँपालिका वडा नं। १, २, र ३ मा केही हप्तादेखि रुघाखोकीका बिरामी देखिएको ताजकोट स्वास्थ्य चौकीका स्वास्थ्यकर्मी मोतिलाल जैसीले बताए ।
अहिलेसम्म नौँ जना विरामीको मृत्यु भएको बताइएको छ । इडिसिडीले मृत्यु हुने कारणमा निमोनिया, कुपोषण,दमका कारण मृत्यु भएको बताइएकाे छ ।
जसमध्ये १० महिनाको बालकको निमोनिया, ५ वर्षिय बालकको कुपोषण र अन्य ७ जनाको दमको दीर्घरोगबाट स्वास्थ्य संस्थामा आउनु अगावै घरैमा मृत्यु भएको इडिसिडीले जनाएको छ।