राजविराज– सप्तरी सदरमुकाम राजविराजमा निर्माण हुन लागेको ‘नर्सिङ कलेज’ भवनको आइतबार शिलान्यास गरिएको छ। उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पताल हाताभित्र कलेज भवनको शिलान्यास गरेका हुन्।
कुल ७ करोड २५ लाखको लागतमा कलेज भवन निर्माण हुनेछ। तीन तले कलेज भवन एक वर्षभित्र निर्माण सम्पन्न हुने गरी सम्झौता भएको छ।
‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान नर्सिङ कलेज’ नामकरण गरिएको कलेज भवन निर्माणको ठेक्का चक्रेश्वरी जेयी जेभीले लिएको राजविराज नगरपालिकाका मेयर शम्भुप्रसाद यादवले जानकारी दिए।
भवन निर्माणका लागि स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको ४ करोड लगानी गरिएको छ भने बाँकी रकम स्वास्थ्य मन्त्रालयले व्यहोर्ने जनाइएको छ।
सप्तरी निर्वाचन क्षेत्र नं. २ का निर्वाचत प्रतिनिधि सभा सदस्य समेत रहेका मन्त्री यादवको संयोजकत्वमा बसेको बजेट बाँडफाँड निर्देशक समितिको बैठकले स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमको रु ४ करोड नर्सिङ कलेजमा लगानी गर्ने निर्णय गरेको थियो।
कलेजकको नाममा मनिष सुमनको चित्त दुखाइ
प्रदेश सभा सदस्य तथा राजपा नेपालका महासचिव मनिष सुमनले भने कलेजको नामप्रति चित्त दुखाएका छन्। स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम बजेट बाँडफाँड निर्देशक समितिको सदस्य समेत रहेका सुमनले कलेज निर्माणका लागि समितिले निर्णय गर्दा कुनै पनि नाम प्रस्ताव नभएको र एकै पटक रामराजा प्रसाद सिंहको नाम जोडिएको भन्दै कुरा उठाए।
‘रामराजा प्रसाद सिंहकै कारण मुलुकमा गणतन्त्र आयो, हामी त्यसैको उपभोग गरिरहेका छौं। यसको मतलब रामराजाप्रति मेरो वैरभाव हुनै सक्दैन,’ उनले भने, ‘रामराजा र गजेन्द्रनारायण दुवै हाम्रा माननिय नेता हुन्। तर, म गजेन्द्रनारायण सिंहको अनुयायी भएकाले कुरा उठाएको मात्र हुँ।’
मन्त्री यादवले भने नामको विषयलाई सामान्य रुपमा लिनुपर्ने बताए। ‘अञ्चल अस्पताल गजेन्द्रनारायण सिंहकै नाममा रहन्छ,’ उनले भने, ‘गजेन्द्रनारायण र रामराजा त कहिलै झगडा गरेनन्, अब हामीले उनीहरूको नाममा झगडा गर्नुहँुदैन।’
नर्सिङ कलेज ‘रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ कै प्रारुप भएकाले रामराजा प्रसाद सिंहको नाम जोडिएको प्रष्टिकरण दिए।