काठमाडौं – आन्दोलनरत डाक्टरहरुसँगको सहमति अनुसार सरकारले डाक्टरहरुलाई संघ अन्तर्गत पुल दरबन्दीमा राख्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १ सय २५ जना विशेषज्ञ डाक्टरलाई पुल दरबन्दीमा राख्ने प्रस्ताव सहितको फाइल संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको थियो।
सामान्य प्रशासनले उक्त फाइलमा संख्या मात्र उल्लेख भएकाले पुल दरबन्दीमा राख्ने भनिएका विशेषज्ञ डाक्टरहरुको नाम र विशेषज्ञता समेत खुलाउनु पर्ने भन्दै स्वास्थ्य मन्त्रालयमा फाइल फर्काएको छ।
स्वास्थ्य मन्त्रालयले ११ औं तहका ५, ९ र १० औं तहका ८० र ८ औं तहका ४० जनालाई पुल दरबन्दीमा राख्ने प्रस्ताव सामान्यमा पठाएको थियो। मन्त्रालयका सहसचिव जनार्दन गुरागाईंले पुल दरबन्दीमा राख्ने कुरा सकारात्मक रहेकाले प्रक्रिया अगाडि बढीरहेको जानकारी दिए।
स्वास्थ्य मन्त्रालय र सरकारी चिकित्सक संघ (गोदान)बीच गत चैत ३० गते पुल दरबन्दी राख्ने कुरामा ‘जेन्टलमेन’ सहमति भएको थियो। सोही अनुसार मन्त्रालयले आवश्यक प्रक्रिया पुरा गर्न गोदानसँग १५ दिनको समय माग गरेको थियो। १५ दिनको समय आइतबारबाट सकिएको छ। मन्त्रालयले सोही सहमति अनुसारको प्रक्रिया अगाडि बढाएको हो।