काठमाडौं— राष्ट्रिय ट्रमा सेन्टरको शल्यक्रिया कक्षको तीनवटा भेन्टिलेटर बिग्रिएपछि सबै शल्यक्रिया रोकिएको छ।
अस्पतालमा रहेका चारमध्ये तीनवटा भेन्टिलेटर एकसाथ बिग्रिएको हुन्। अस्पतालका निर्देशक डा प्रमोदकुमार यादवका अनुसार शल्यकक्षमा रहेका भेन्टिलेटर बिग्रिएपछि शल्यक्रिया नै स्थगित गर्नुपर्ने अवस्था आएको हो।
उनले बिग्रिएका भेन्टिलेटर बनाउन आवश्यक प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए। ‘आज रातीसम्म बनाउने कोसिस गरिरहेका छौं,’ उनले भने।
उपकरण बिग्रिने समस्या ट्रमा सेन्टरमा बेलाबेलामा आइरहन्छ तर दीर्घकालिन रुपमा समस्या समाधान नगर्दा दुःख भने बिरामीले पाउने गरेका छन् ।
शल्यक्रियाका गर्नुपर्ने बिरामी र दुर्घटना भएपछि घाइते भएर आउने बिरामी यसको प्रत्यक्ष मारमा परेका छन्।
मेसिन भारतीय कम्पनीको भएकोले नेपालका इन्जिनियरले बनाउन नसक्ने बताइएको छ।
तर निर्देशक यादवले भारतीय इन्जिनियर आउन समय लाग्ने भएको वैकल्पिक उपाय अनुसार बनाउन लागिएको दावी गरे।
ट्रमाले एक महिनाअघि बिग्रेका मेसिनउपकरणको मर्मतका लागि भन्दै रु २२ करोड बजेट माग गर्दै मन्त्रालयमा पत्र पठाइएको निर्देशक यादवले बताए।
उनले भने, ‘मेसिन बनाउन निकै खर्चिलो छ । सिटी स्क्यानको ट्युव फेर्नुपर्नेछ । भेन्टिलेटर बनाउनुपर्ने अन्य धेरै मेसिन बिग्रेका छन्, हामीले तत्काल बनाएर काम चलाइरहेका छौं तर दीर्घकालिन समाधानका लागि बजेट छैन।’
ट्रमा सेन्टरमा दैनिक सातवटा शल्यक्रिया हुने गर्छन्।