काठमाडौं- चितवन मेडिकल कलेजको शिक्षण अस्पतालले मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाएको छ। सोमबार बसेको अंग प्रत्यारोपण समन्वय समितिको बैठकले अस्पताललाई मिर्गौला प्रत्यारोपणका लागि अनुमति दिने निर्णय गरेको हो।
यो संगै नेपालमा मिर्गौला प्रत्यारोपणका लागि अनुमति पाउने अस्पतालको संख्या ८ पुगेको छ। मिर्गौला प्रत्यारोपणका लागि निजी तर्फ अनुमति पाउनेमा चितवन मेडिकल कलेज पाँचौं हो।
अनुमति पाएसँगै अस्पतालका अध्यक्ष डा हरिषचन्द्र न्यौपानेले मिर्गौला प्रत्यारोपणको सबै तयारी पुरा गरी छिट्टै प्रत्यारोपण सुरु गर्ने जानकारी दिए। ‘अनुमति पाएपछि अब हामी अन्य तयारीमा जुटेका छौं,’ उनले भने, ‘अबको एक महिनामा प्रत्यारोपण सुरु गर्ने लक्ष्य लिएका छौं।’
मिर्गौला प्रत्यारोपण गर्नेमा सरकारी तर्फ त्रिवि शिक्षण अस्पताल, वीर अस्पताल र शहिद धर्मभक्त राष्ट्रिय मिर्गौला प्रत्यारोपण केन्द्र छन्।
चितवनमा मिर्गौला प्रत्यारोपणको अनुमति पाउने संस्था दुई पुगेको छ। चितवन मेडिकल कलेज अघि कलेज अफ मेडिकल साइन्सेसले अनुमति पाएको थियो। निजी तर्फ यी दुईसहित ग्रान्डी अस्पताल, निदान अस्पताल र समेरु अस्पतालले पनि अनुमित पाएका छन्।
नेपालमा मिर्गौला प्रत्यारोपण सेवा सुरु भएको ११ वर्ष भइसकेको छ।