जनकपुर- बर्दिवास नगरपालिकामा बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार विकास आयोजनाको कार्यालय स्थापना गरिएको छ।
नेपाल सरकारको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माणको लागि बुधबारदेखि आयोजनाको कार्यालय स्थापना गरिएको आयोजना प्रमुख देवीप्रसाद सुवेदीले जानकारी दिए।
महोत्तरीको बर्दिबासमा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले मेडिकल कलेजको कार्यालय समुद्घाटन गरे।
गत फागुन ३ गते बसेको मन्त्रिपरिषद् बैठकले प्रदेश २ को महोत्तरीको बर्दिबास सरकारी मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार निर्माण विकास आयोजना स्वीकृत गरेको थियो। आयोजना कार्यालय स्थापना भएसँगै मेडिकल कलेजको लागि आवश्यक काम कारबाही यथासिघ्र सुरु हुने सुवेदीले बताए।
बर्दिवास मेडिकल कलेज सरकारले आर्थिक वर्ष २०७३/०७४ मा स्थापना गर्ने निर्णय भएको थियो। कलेज स्थापनाको लागि बर्दिवास नगरपालिका-१ मा आवश्यक ७५ रोपनी जग्गा सिफारिस गरिएको छ।

सिफारिस भएको जग्गामा सरकारी वन रहेकोले मन्त्रालयमा आवश्यक प्रक्रियाको कारण रोकिएको छ। कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयका प्रमुख सुवेदीले चालु आर्थिक वर्षमा अर्थ मन्त्रालयले करिब ८७ लाख रुपैयाँ छुट्टयाएको जानकारी दिए।
स्थापना भएको कार्यालयमा आयोजना प्रमुख सहित ७ जना कर्मचारीको दरबन्दी रहेको आयोजना प्रमुख सुवेदीले बताए। आयोजनाको कार्यालयले मेडिकल कलेज स्थापनाका लागि डिपिआर निर्माण, वातावरणीय परिक्षण मुल्याङ्कन (इआइए), गुरुयोजना निर्माण, जग्गा प्राप्ति लगायतका कामहरु गर्नेछ।
कलेजको पूर्वाधार तयार गर्न ३ वर्ष लाग्नसक्ने बताइएको छ। कलेजमा सबै विधाको अध्यापन हुने र बर्दिवास मेडिकल कलेजका लागि ३ सय बेडको अस्पताल निर्माण हुनेछ।
कार्यक्रममा राष्ट्रियसभाका उपाध्यक्ष शशिकला दाहाल, प्रदेश २ का सांसद, बर्दिवास नपाका मेयर विदुर कार्कीलगायतको उपस्थिति रहेको थियो।
बर्दिवास र राजविराजमा पहिले कहाँ मेडिकल कलेज खुल्छ? प्रतिस्पर्धा गर्नुस् : रक्षामन्त्री
उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेलले वर्तमान सरकारले 'समृद्ध नेपाल, सुखी नेपाली'को नारालाई सार्थकता प्रदान गर्न अग्रसर रहेको बताएका छन्।
मन्त्री पोखरेलले विभिन्न समयमा बेचिएका तथा बन्द रहेका देशका उद्योग तथा कलकारखानाहरु फिर्ता ल्याई पुनः सञ्चालनमा ल्याउने तयारीमा सरकार लागेको बताए। उनले भने, ‘देशका लाखौं होनहार युवाहरु विदेसिने बाध्यतालाई रोजगारमा बदलिनको लागि ती उद्योग तथा कलकारखानाहरुलाई पुनः सञ्चालनमा ल्याउन सरकार लागि परेको छ।’

मन्त्री पोखरेलले सरकारले अगामी बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्ने बताउँदै कृषि उत्पादनमा जोड दिने गरी नीति तथा कार्यक्रम ल्याउने तयारी सरकारले गरेको बताए। उनले आगमी बजेटबाट जेष्ठ नागरिकहरुको लागि मासिक ५ हजार रुपैयाँ भत्ता पुर्याउने गरी सरकारले गृहकार्य गरिरहेको समेत बताए।
महोत्तरीको बर्दिबासमा बुधबार मेडिकल कलेजको कार्यालय समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संघीय सरकारको मुख ताकेर नबस्न र संविधानले दिएको अधिकार प्रयोग गर्दै त्यसअनुसार काम गर्न प्रदेश सरकार र स्थानीय सरकारलाई आग्रह गरे।
रक्षामन्त्री पोखरेलले भने, ‘अब संघीय सरकारको मुख ताक्ने अवस्था छैन। तीन तहको सरकार छ। प्रदेश सरकार र स्थानीय सरकारलाई पनि धेरै अधिकार प्रदान गरिएको छ, तपाईँहरु संविधानमा किटान गरेको अधिकार प्रयोग गरी योजना बनाएर विकासको काममा अघि बढ्नुस्।’
उनले स्थानीय सरकारले नगर्न सक्ने काम प्रदेश सरकार र प्रदेश सरकारले गर्न नसक्ने काम मात्रै संघीय सरकारले गर्ने स्पष्ट पारे। दुई तिहाई बहुमतको सरकारले केही गर्न नसकेको भन्दै आलोचना भइहेको प्रसंगमा उनले भने, ‘एकवर्षमा सरकारले थुप्रै नीति, नियम कानुन बनाउने काम गरेर आधार पूरा गरेको छ। अगामी नयाँ आर्थिक वर्षदेखि जनताको औपचारिक कामहरु सुरु गर्छ। तीव्र गतिमा विकासको कामहरु हुन्छ।’

उनले संघीय सरकारको काम उपलब्धिमुलक रहेको बताउँदै सरकारले जनताको भावना अनुरुप कामहरु गर्दै गएको दाबी गरे।
कार्यक्रममा रक्षामन्त्री पोखरेलले प्रदेश २ को बर्दिवास र राजविराजमा मेडिकल कलेज खोल्ने कार्ययोजना रहेकोले दुईमध्ये कसले पहिले कलेज खोल्ने प्रतिस्पर्धा गरेर देखाउन बर्दिवासवासीलाई आग्रह गरे। उनको कथन थियो, ‘मेडिकल कलेज खोल्नुु अगावै ३ सय शय्याको अस्पताल सञ्चालनमा आएको हुनु पर्दछ, तसर्थ पहिले अस्पताल सञ्चालनमा नआए, मेडिकल कलेज खोल्ने कुरामा अप्ठ्यारो हुनेछ।’
यस्तै कार्यक्रमलाइ सम्बोधन गर्दै विज्ञान, प्रविधि तथा शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले सानो–सानो कुरामा नअल्झेर दुरगामी योजनाको कुरामा विमर्श हुनुपर्ने अवस्था रहेको बताए। बर्दिबास मेडिकल कलेज स्थापनाका लागि यस वर्षमै टेन्डरको प्रक्रिया अगाडि बढ्ने जानकारी गराउँदै मन्त्री पाखेरलले ५ वर्षभित्र कलेज सञ्चालनमा आउने बताए।