काठमाडौं– सरकारले प्रयोगशालामा कार्यरत कर्मचारीलाई प्रयोगशाला जोखिम भत्ता दिने निर्णय गरेको छ। मन्त्रिपरिषद्को बैठकले उक्त निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले बताएका छन्।
यसअघि सरकारले प्रयोगशाला जोखिम भत्ता व्यवस्थापन निर्देशिका २०७२ जारी गरे पनि लागू हुन सकेको थिएन। निर्देशिकामा प्रयोगशालामा कार्यरत सम्पूर्ण कर्मचारीलाई सुरु तलब स्केलमा २५ प्रतिशत भत्ता दिने उल्लेख छ। अरु कर्मचारीलाई पनि एक महिना भन्दा बढी प्रयोगशाला सम्बन्धि तालिम दिनुपरेमा भत्ता दिइने भनिएको छ।
नोकरी अवधिभर १० वर्ष प्रयोगशालामा काम गरेर सेवानिवृत्त भएकाहरुलाई निवृत्तिभरणमा २५ प्रतिशत भत्ता उपलब्ध गराउने प्रावधान छ भने १० वर्ष प्रयोगशालामा काम गरेका कारण बिरामी भएमा मेडिकल बोर्डको सिफारिसमा १० लाख रुपैयाँसम्म उपचार खर्च सरकारले बेहोर्ने भनिएको छ।
प्रयोगशालामा काम गर्दा दुर्घटना भइ कर्मचारीको मृत्यु भएमा परिवारले १० लाख रुपैयाँ नै पाउने प्रावधान निर्देशिकामा छ।