काठमाडौं - नेपालका एक युवामा देखिएको बर्ड फ्लु (एच५एन१) भाइरस पछिल्लो दुई वर्षयता विश्वभरमा देखिएको पहिलो घटना हो। काभ्रेका ती युवामा पाइएको उक्त भाइरसका कारण उनको मृत्यु भइसकेको छ।
विश्वभरमा दुई वर्षयता देखिएको पहिलो घटना भए पनि नेपालमा भने मानिसमा नै बर्ड फ्लु पुष्टि भएको यो पहिलो घटना हो। मृत्यु भएका ती युवाको नाम, ठेगना लगायतका विवरण अझै गोप्य राखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालको मानिसमा नै बर्ड फ्लु देखिएको यो समस्या अन्तराष्ट्रिय चासोको आकस्मिक जनस्वास्थ्य अवस्था हो। नेपाल अन्तराष्ट्रिय हेल्थ रेगुलेसनको पक्ष राष्ट्र भएकाले विश्व स्वास्थ्य संगठनको माध्यमबाट यस विषयमा विस्तृत विवरण पठाउने काम भइरहेको छ।
बर्ड फ्लुले एक जनाको मृत्यु भइसकेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त व्यक्तिको परिवार, काम गर्ने स्थान, उपचार भएको अस्पताल लगायतका क्षेत्रमा थप अनुसन्धानको काम अगाडि बढाइसकेको छ। यसका साथै मन्त्रालयले कृषि तथा पशुपक्षी विकास मन्त्रालय, विश्व स्वास्थ्य संगठन लगायतका नियकाहरुसँगगको सहकार्यमा रोग फैलिन नदिन निगरानीलाई सशक्त बनाएको स्वास्थ्य सचिव डा पुष्पा चौधरीले जानकारी दिइन्।
विश्व स्वास्थ्य संगठनको पछिल्लो जानकारी अनुसार नेपालमा देखिएको जस्तो बर्ड फ्लु २ वर्ष अघि इजिप्ट र इन्डोनेसियामा देखिएको थियो। इजिप्टमा ३ जनामा देखिएकोमा १ जनाको मृत्यु भएको थियो। इन्डोनेसियामा एक जनामा देखिएको थियो। ती व्यक्तिको पनि मृत्यु भएको थियो।
यो भाइरस सन् १९९६ मा पत्ता लागेको हो। सन् २००३ देखि हालसम्म विश्वभरमा ८ सय ६० जनामा यो भाइरसको संक्रमण भएको पाइएको छ। तीमध्ये ४ सय ५४ जनाको मृत्यु भएको छ।