काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहिबार आकस्मिक पत्रकार सम्मेलन गर्दै नेपालमा एक व्यक्तिमा बर्ड फ्लु देखिएको र ती व्यक्तिको मृत्यु भएको खबर सार्वजनिक गर्यो। तर, मन्त्रालयले ती व्यक्तिको नाम, ठेगाना, पेसालगायतका सम्पूर्ण विवरण भने गोप्य राखेको छ।
स्वास्थ्यखबरलाई प्राप्त जानकारीअनुसार बर्ड फ्लुबाट मृत्यु भएका ती व्यक्ति सवारी चालक ‘ड्राइभर’ थिए।
काभ्रे घर भएका ती व्यक्ति भक्तपुरमा बसोबास गर्दै आएका थिए। बर्ड फ्लुका कारण मृत्यु भएका ती व्यक्ति कुखुरा र कुखुराजन्य सामाग्री ओसारपसार गर्ने सवारी साधन नै चलाउँथे वा अन्य सवारी साधन भन्ने विषयमा भने थप अध्ययन भइरहेको छ।
२१ वर्षीय ती युवाको गत चैत १५ गते बर्ड फ्लुका कारण मृत्यु भएको थियो। उपचारका क्रममा राजधानीको एक अस्पतालमा उनको मृत्यु भएको थियो।
चैत १० गते बिरामी भएपछि उनी उपचारका लागि पहिला जोरपाटीस्थित नेपाल मेडिकल कलेजको शिक्षण अस्पताल पुगेका थिए। त्यसपछि उनलाई थप उपचारका लागि चाबहिलस्थित ओम अस्पतालमा ल्याइयो। उनको मृत्यु ओम अस्पतालमा भएको स्रोतले जानकारी दिएको छ।
तर, स्वास्थ्य मन्त्रालयले भने बर्ड फ्लुपछि थप अध्ययन, परीक्षण र निगरानीको काम गर्नुपर्ने भन्दै अस्पतालको नाम समेत गोप्य राखेको छ।
बर्ड फ्लु पुष्टि भइसकेपछि मृत्यु भएका व्यक्तिले गर्ने काम, क्षेत्र, बसोबास गर्ने क्षेत्र, आफन्त, साथीभाइलगायत क्षेत्रमा पनि परीक्षण गर्नुपर्ने हुन्छ।
उनीहरुलाई विशेष निगरानीमा राख्नुपर्ने हुन्छ। ती क्षेत्रका मानिसलाई स्वास्थ्य परीक्षणका लागि आग्रह गर्नुपर्ने हुन्छ। तर, स्वास्थ्य मन्त्रालयले भने यो खबर सार्वजनिक गर्दा मानिसमा झन् त्रास हुने भन्दै रोगलाई थप फैलने बाटो दिएको स्वास्थ्य मन्त्रालयका एक कर्मचारीले बताए।
‘यदि समयमा नै संक्रमित क्षेत्रका मानिसमा यो खबर पुग्ने हो भने समयमा नै स्वास्थ्य परीक्षण गराएर शंकास्पदको उपचार हुने थियो,’ स्वास्थ्य मन्त्रालयका ती कर्मचारीले भने, ‘सरकारले संक्रमण देखिएको क्षेत्रको विवरण लुकाएर झन् खतरा त्रास फैलाउने वातावरण सिर्जना गरेको छ।’
मृत्यु भएका ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए। उनको र्यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
उनलाई चैत ११ गते नै इन्फ्लुएन्जाको औषधि दिइयो। तर, स्वासप्रस्वासमा समस्या भई चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भयो।
उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन। त्यसपछि उक्त नमूना परीक्षणका लागि जापान पठाइएको थियो।
उक्त नमूनाको नतिजा बैशाख १७ गते मंगलबार नेपाल आएको थियो। नमूनामा बर्ड फ्लु (एच फाइव एन वान) भएको उल्लेख थियो।
त्यसपछि यो खबर कसरी बाहिर ल्याउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयमा स्वास्थ्य मन्त्रालयले जानकारी गराएको थियो। त्यसपछि बिहीबार स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
नेपालमा मानिसमा नै बर्ड फ्लु देखिएको यो पहिलो पटक हो।
पछिल्लो दुई वर्षयता विश्वमा नै बर्ड फ्लु देखिएको पनि यो पहिलो घटना हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार नेपालको मानिसमा नै बर्ड फ्लु देखिएको यो समस्या अन्तराष्ट्रिय चासोको आकस्मिक जनस्वास्थ्य अवस्था हो।
नेपाल अन्तराष्ट्रिय हेल्थ रेगुलेसनको पक्ष राष्ट्र भएकाले विश्व स्वास्थ्य संगठनको माध्यमबाट यस विषयमा विस्तृत विवरण पठाउने काम भइरहेको छ।