काठमाडौं – सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा नसर्ने तथा दीर्घ रोगको पहिचान तथा रोकथामका लागि ‘टोलटोलमा नागरिक आरोग्य कार्यक्रम’ सञ्चालनमा ल्याउने बताइएको छ।
नेपालमा पछिल्ला वर्षमा मुटु, मिर्गौला, मधुमेह, क्यान्सर जस्ता नसर्ने रोगको भार बढ्दै गइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा नसर्ने रोगको भार ६० प्रतिशत भन्दा माथि पुगिसकेको छ।
अस्वस्थ जीवनशैली, खानपान, मद्यपान, धुमपान, तनाव जस्ता कारण नेपालमा नसर्ने रोगको भार बढ्दै गएको हो। यसका कारण कलिलै उमेरका युवाहरुमा हृदयाघात, मस्तिष्कघात, मिर्गौला फेल, कलेज सिरोसिस जस्ता रोग बढीरहेको छ।
सरकारले समयमा नै नसर्ने रोगको पहिचान गर्ने, रोग लाग्नै नदिने उपायका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वयमा ‘टोलटोलमा नागरिक आरोग्य कार्यक्रम’ सञ्चालनमा ल्याउन लागेको हो।