काठमाडौं– हरेक मे ४ मा मनाइने ‘ विश्व एन्काइलोजिङ स्पोनडाइलिटिस’ अर्थात मेरुदण्डको बाथ रोग दिवसको पूर्व सन्ध्यामा शुक्रबार नेशनल बाथरोग सेन्टरले जानकारीमूलक कार्यक्रमको आयोजना गरेको छ।
एन्काइलोजिङ स्पोनडाइलिटिस भनेको ढाड अथवा मेरुदण्डको बाथ हो। अहिले नेपालमा अनुमानित ४० लाख बाथ रोगीहरु रहेको अनुमान गरिन्छ।
कार्यक्रममा भारत मेदान्ता अस्पतालका वरिष्ठ बाथरोग विशेषज्ञ डा राजीवा गुप्ताले यो रोगलाई नियन्त्रणमा ल्याउन सक्ने बताउँदै मानिसले मजाले आफ्नो दैनिक जीवन निर्वाह गर्न बताए। यो रोगका बिरामीहरु जोखिमबाट बच्न चिकित्सकको निगरानी रहनुपर्ने उनको सुझाव छ।
सेन्टरका बाथरोग विशेषज्ञ डा विनित वैद्यले ६ वर्ष अगाडी यो रोगको उपचार नेपालमा सम्भव नभएको भन्दै यो रोगका बिरामीहरुको पहिचान गर्न विभिन्न अभियानहरु सञ्चालन गरिरहेको बताए। उनले अहिले ७०० जना भन्दा बढी बिरामीहरु सेन्टरमा यस रोगको उपचार गराइरहेको जानकारी दिए ।
प्राय ४५ वर्ष मुनिका पुरुषमा बढी पाइन्छ यो बाथरोगले विशेषगरी मेरुदण्डमा असर गर्दछ।
बाथरोग विशेषज्ञ डा श्वेता नकर्मीका अनुसार यस रोगमा मेरुदण्ड बिहानी पख दुख्ने, अरठ्ठा हुने र बिस्तारै मेरुदण्ड बाँगिदै जाने हुन्छ। त्यसका साथै हात तथा खुट्टाका जोर्नीहरु दुख्ने, सुन्निने, आँखा बारम्बार रातो भएर दुख्ने, बिहान अरठ्ठो हुने, कुर्कुच्चाको मुनि वा पछाडी दुख्ने लक्षणहरु देखा पर्न सक्छन्। यो बाथरोगमा छाला तथा पेटको समस्या पनि देखा पर्न सक्छ।
समयमा उपचार नगरेको खण्डमा मेरुदण्ड र जोर्नीहरु बांगिने, जोडिने हुन सक्छ। साथै मुटुको भल्बको समस्या, फोक्सोमा जाली पर्ने र किड्नीमा पनि जटिलता देखा पर्न सक्छन्। समयमै उपचार सुरु गर्न सकेमा यो रोग नियन्त्रमा ल्याउन सकिन्छ।
यस रोगको पहिचान तथा रोकथाम समयमै नभएमा मृगौला, मुटु तथा कलेजो जस्ता महत्वपूर्ण अंगहरुमा असर पुर्याइ मानिसको ज्यान समेत लिने गर्दछ। यो रोगलाई ठीक पार्न विभिन्न परिक्षण आवश्यक छ। नेपालमा यसको परिक्षण ९० प्रतिशत सम्भव छ । त्यसबाहेक थप उपचार तथा परिक्षणको लागि भारत जानुपर्ने हुन्छ।