जनकपुर- सोनमा गाँउपालिकाका अध्यक्ष तथा वडाध्यक्षले २ बालकलाई हातखुट्टा बाँधी कुटपिट गरेको आरोप लागेको छ।
सोनमा गाउँपालिका-१ का १६ वर्षीय शङ्कर साह र १७ वर्षीय सुधीर साहलाई दुबै जनप्रतिनिधि मिलेर कुटपिट गरेको पीडितको आरोप छ।
सोनमा गाँउपालिका-१ की सुधा यादवलाई स्थानीय राजु साहसँग भगाउनको लागि सहयोग गरेको भन्दै जनप्रतिनिधिले कुटपिट गरेको दाबी गरिएको छ।
वैशाख १८ गते भएको घटना मिलाउन आयोजित वडा कार्यालयकै परिसरबाट केही व्यक्तिहरूले कुटपिट गरेको पीडित शङ्कर साहले बताए।
पीडित साहले बताएअनुसार वडाध्यक्ष अशोक यादव, गाउँपालिका प्रमुख राजकुमार यादव र प्रमोद यादवले हातगोडा बाँधी निर्घात कुटपिट गरेका हुन्।
घाइते अवस्थामा रहेको आफूहरुलाई घटनास्थलमा रहेका प्रहरीले पनि अस्पताल नलगेर घरमा छाडेको पीडित साहले गुनासो गरे।
भागेकी भनिएकी युवतीलाई २४ घण्टाभित्र फिर्ता ल्याउन गाउँपालिका प्रमुख यादवले चेतावनी दिएको पनि पीडित साहले बताए।
निर्घात कुटपिटबाट घाइते शङ्कर साहको उपचार गौशाला प्राथमिक उपचार केन्द्रमा भइरहेको छ भने सुधीर साहलाई उपचारको लागि काठमाडौँ लगिएको छ।
पीडित शङ्करको बुबा रामु साहले भने, 'छोरा एसइई सकेर ब्रिज कोर्स तयारीमा लहानमा पढिरहेको अवस्थामा गाउँपालिका अध्यक्षलगायतले बोलाएर अनाहकमा कुटिपिट गरे। छोराले उक्त घटनामा आफ्नो कुनै संग्लनता नभएको भन्दाभन्दै कुनै कुरा नबुझी कुटपिट गरे।'
कुटपिटका कारण नाकबाट रगत बग्नुको साथै शरीरको विभिन्न अङ्गमा निलडाम परेको छ। आर्थिक रुपमा कमजोर भएका कारण स्थानीय स्तरमा नै उपचार गराइरहेको पीडितले बताए। घटनाबारे इलाका प्रहरी कार्यालय गौशलामा वैशाख २१ गते उजुरी दर्ता भएको र चाँडै नै यस सम्बन्धमा छानबिन प्रक्रिया अगाडि बढाइने इन्स्पेक्टर किशोर आचार्यले बताए।
गाउँपालिका प्रमुख राजकुमार यादवले भने आफूहरुलाई छलफल गराइदिन भन्दै दुबै पक्षले भनेकाले छलफलमा सहभागी भएको तर कुनै प्रकारको कुटपिट नभएको दाबी गरे।
घटनालाई राजनीतीकरण गर्न खोजिएको र आफू र आफ्नो वडा अध्यक्षको उक्त कुटपिट घटनामा संलग्नता नरहेको उनले बताए।