काठमाडौं– भक्तपुरको सहिद धर्मभक्त अंग प्रत्यारोपण केन्द्रका नर्सहरुले आफ्ना माग पूरा गर्न दबाब दिँदै आइतबारदेखि नेपाल नर्सिङ संघमा ताला लगाएर धर्ना दिएका छन्।
आज बिहान संघले प्रहरी लगाएर कार्यालयको ताला खोलेको थियो। तर, नर्सहरु भने विभिन्न नारा लगाउँदै धर्नामा बसेका छन्।
आन्दोलनरत नर्सहरुका जायज मागलाई मात्र आफूहरुले पूरा गर्न पहल गर्ने संघकी अध्यक्ष तारा पोखरेलले बताइन्।
‘लोकसेवाले लिएको परीक्षामा सबै जना पास हुनुपर्ने र फेल भइहाल्यो भने पनि करारमा राख्नुपर्ने अडान उनीहरुको छ, यस्ता माग कसरी पूरा हुन्छ?’ उनले भनिन्।
नर्सहरु धर्ना बसेपछि संघ र आन्दोलरनरत नर्सबीच संघकै कार्यालयमा वार्ता भइरहेको छ।
पुराना कर्मचारीलाई स्थायी गर्नुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, आफ्ना मान्छेलाई छानेर राख्नुभन्दा काम गर्दै आएकालाई प्रोत्साहन गर्नुपर्ने, जोखिम भत्ता प्रदान गर्नुपर्ने जस्ता माग राख्दै नर्सहरु वैशाख ११ गतेबाट आन्दोलनमा उत्रिएका हुन्।
सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले सूचना निकाली आन्दोलनका कार्यक्रम स्थगित गर्न आन्दोलनरत सम्पूर्ण कर्मचारीलाई आग्रह गरेको छ।