काठमाडौं– उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवले सरकारले नछाड्ने भएका छन्। डा बाबुराम भट्टाराईको नयाँ शक्तिसँग उनको संघीय समाजवादी फोरम एक भएपछि सरकार छाड्ने आशंका गरिएको थियो।
संविधान संशोधनका लागि सरकारमै बसेर दबाब दिने रणनीति नवगठित समाजवादी पार्टी नेपालले तय गरेको छ। उनको मूल मुद्दा संविधान संसोधन देखिएको छ। संशोधनमा प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिका साथै प्रदेशको संख्या बढाउने माग गर्नेछ।
संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीको एकता आधार पत्रमा प्रदेशको संख्या १० प्लस १ बनाउन माग गरिने उल्लेख छ। संविधानसभाबाट गठित उच्चस्तरीय आयोगले १० प्लस १ प्रदेशको सङ्घीय राज्यको खाका प्रस्तुत गरेको थियो।
‘संविधान सभाद्धारा गठित उच्च स्तरीय राज्य पुर्नसंरचना आयोगको प्रतिवेदनको आधारमा संविधान संशोधन गरी १० प्लस १ प्रदेशहरुको रचना गरिनुपर्दछ भन्ने हाम्रो मान्यता रहेको छ,’ सहमतिको आधारपत्रमा भनिएको छ।
पार्टीले कर्मचारीतन्त्रमा समेत पुर्नगठनको माग गरेको छ। संवैधानिक निकायहरुको सवलीकरणमा जोड दिएको छ।