काठमाडौं- पूर्व स्वास्थ्यमन्त्री गगन थापाले संघीय प्रतिनिधि सभामा आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बिमाको भिन्नता सरकारलाई थाहा नभएको विषय उठाएका छन्। नेपाली कांग्रेसका सांसद थापाले सरकारले ल्याएको नीति तथा कार्यक्रमका विषयमा आफ्नो धारणा राख्ने क्रममा उनले उक्त कुरा राखेका हुन्।
राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार सार्वजनिक गरेको नीति तथा कार्यक्रममा आधारभूत स्वास्थ्य र स्वास्थ्य बिमाका विषयमा त्रुटि फेला परेपछि सांसद थापाले संसदमा उक्त विषय उठाएका हुन्।
संसदमा आफ्नो धारणा राख्ने क्रममा सांसद थापाले 'आधारभूत स्वास्थ्य सेवा र स्वास्थ्य बिमाको भिन्नता सरकारलाई थाहा छैन,' भन्ने कुरा राखेका हुन्।
आगामी आर्थिक वर्षकालागि ल्याइएको नीति तथा कार्यक्रममा संविधानमा नै मौलिक अधिकारका रुपमा रहेको आधारभूत स्वास्थ्यको विषय र स्वास्थ्य बिमाको विषयलाई सरकारले एउटै विषयका रुपमा बुझेको देखिन्छ। जबकी यी दुई निकै फरक विषय हुन्।
आधारभुत स्वास्थ्य सेवाका लागि नागरिकले कुनै पनि शुल्क तिर्नुपर्दैन। नागरिकले यो सेवाका लागि बिमा पनि गर्नुपर्दैन।
तर, नीति तथा कार्यक्रममा भने यी दुबै सेवालाई एकै ठाँउमा जोडेर एउटै कार्यक्रम बनाएर ल्याइएको छ।
‘स्वास्थ्य बिमाले समेट्ने आधारभूत उपचार सबै स्थानीय तहका स्वास्थ्य केन्द्रहरूबाट उपलब्ध गराइनेछ’ राष्ट्रपतिले सार्वजनिक गरेको नीति तथा कार्यक्रममा भनिएको छ।
आधारभूत सेवाभित्र नपरेका रोग तथा समस्याको उपचारमा सहज गराउन, बिरामीले ठूला तथा गम्भिर रोगको उपचारमा घरखेत नै बेच्नुपर्ने अवस्थाबाट राहत दिलाउने उद्देश्यसहित बिमा कार्यक्रम लागू भएको हो।
स्वास्थ्य बिमा सेवा छुट्टै ऐन अनुसार कार्यान्वयनमा आइरहेको छ। स्वास्थ्य बिमा ऐन २०७४ अनुसार विभिन्न रोग तथा समस्याका उपचारका क्रममा भर्ना, शल्यक्रिया, बहिरंग सेवा, स्वास्थ्य सहायता उपकरण जस्ता उपचारात्मक सेवा लिन सकिन्छ। यसका साथै निदानात्मक वा पुनर्स्थापना, एम्बुलेन्स, मनोसामाजिक परामर्श लगायतका सेवा पनि लिन सकिन्छ।
आधारभूत सेवा अन्तर्गत नपरेका यी सेवा लिनका लागि भने नागरिकले बिमाका लागि तोकिएको प्रिमियम बुझाउनु पर्ने हुन्छ।