काठमाडौं – सरकारले संघीय संरचना अनुसार कर्मचारी समायोजन प्रक्रिया अगाडि बढाए पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समायोजन अझै टुंग्याउन सकेको छैन। स्वास्थ्यका कर्मचारी समायोजनमा धेरै त्रुटि भएपछि समाधानका लागि सरकारले कर्मचारीसँग गुनासो दर्ता गर्न भनेको थियो।
सोही अनुसार स्वास्थ्यका १३ हजारभन्दा बढी कर्मचारीले समायोजनमा असन्तुष्टि जनाउँदै गुनासो दर्ता गराएका थिए। वैशाख ५ गतेभित्र दर्ता भएका गुनासालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पहिला कम्प्युटरमा अभिलेख (इन्ट्री) गर्ने काम गरेको छ। सामान्यले हालसम्म १३ हजार गुनासोको अभिलेख गरिसकेको बताइएको छ। अझै ५ सय जति गुनासो बाँकी रहेकाले आज मंगलबार सक्ने गरी काम अगाडि बढेको सामान्य प्रशासन मन्त्रालयले जनाएको छ।
स्वास्थ्य मन्त्रालय, सामान्य प्रशासन मन्त्रालयमा सोझै दर्ता भएका गुनासा सहित इमेल र भाइबारमा आएका गुनासालाई पनि एक÷एक गर्दै अभिलेख गर्ने काम भइरहेको हो। गुनासो अभिलेख गर्नका लागि १९ जना कर्मचारी खटिएका छन्।
स्वास्थ्य मन्त्रालय अन्तर्गत सरकारले २७ हजार ३ सय २ जना कर्मचारीको समायोजन गरेको सूची सार्वजनिक गरेको थियो। तर, स्वास्थ्यको सूची सार्वजनिक भएलगत्तै धेरै त्रुटि आएपछि समयोजन भएको कर्मचारीमध्ये आधाभन्दा बढीले गुनासो दर्ता गराएका हुन्।
सामान्य प्रशासनले अभिलेखिकरणको काम सकिएपछि सबै विवरण केलाएर सबैलाई मान्य हुने गरी समस्याको समाधान गर्ने जनाएको छ।