कञ्चनपुर– सेती अस्पतालमा पानीको हाहाकार भएको छ। विगत तीन दिनदेखि अस्पतालमा पानीको अभाव भएपछि बिरामी समस्यामा परेका छन्।
अस्पताल परिसरमा रहेको धारामा पानी आउन छाडेपछि दुर्गन्ध फैलिएको छ। पानीको अभावमा शौच गर्न समेत समस्या भएको बिरामी तथा कुरुवाहरुले बताएका छन्।
गर्मी मौसम सुरु भएसँगै बिरामीको चाप बढेको बेला नै पानीको अभाव भएको थियो।
शौचालयमा भएको फोहोरले अस्पतालभरि नै दुर्गन्ध फैलिएपछि समस्या भएको हो।
अहिले धनगढीमा आफन्तको घर भएका बिरामीहरु शौच गर्न आफन्त कहाँ जाने गरेका छन्। अस्पतालको फार्मेसी नजिकै गाडिएको डिप बोरिङबाट पानी कम आउन थालेपछि एउटा बोतल भर्न समेत घण्टौं लाइनमा बस्नुपर्ने बाध्यता रहेको छ।
कञ्चनपुरबाट उपचारका लागि आएका अमृत शाहीले पानी नभएका कारण शौच गर्न नपाएको गुनासो गरे।
पानी अभावका कारण आफन्तको घरमा गएर शौच गरिरहेको उनले सुनाए।
सुदूरपश्चिमका २८ लाख जनताको स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने सेती अस्पतालमा पानीको हाहाकार हुँदा समेत सरोकारवालाले विकल्पको खोजी नगरेको भन्दै आलोचना भएको छ।
यता सेती अस्पतालका सूचना अधिकारी दिलिप श्रेष्ठले बोरिङको पानी सुकेपछि समस्या आएको बताए। तर, विकल्पको खाजी गरिने उनले उल्लेख गरे।