प्युठान- अनुमति नलिई सञ्चालित सरुमारानी-५ प्युठानको बंगाली मेडिकल हलमा शिलबन्दी गरिएको छ।
बुधबार अनुगमनका क्रममा स्विकृति नलिई औषधि पसल सञ्चालन गरेको र म्याद नाघेका औषधि बिक्री गरेको भेटेपछि सरुमारानी गाउँपालिकाले शिलबन्दी गरेको हो। गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अमर ओली सहितको टोलीले पसल शिलबन्दी गरेको हो।
यसअघि औषधि पसल सञ्चालक भारतीय नागरिक शंकर लस्करलाई ७ दिनभित्र आवश्यक कागजपत्र लिई कार्यालयमा आउन निर्देशन दिइएको थियो। गाउँपालिकाको निर्देशन अटेरी गरेपछि बजार अनुगमन निर्देशिका २०७५ दफा १४ को क बमोजिम औषधि पसलमा शिलबन्दी गरेको ओलीले जानकारी दिए।
त्यस्तै मदिरा सेवन गरी विद्यालय जाने शिक्षक तेजबहादुर उलुङ्गेलाई गाउँपालिकामा तानिएको छ। चेतावनी स्वरुप शिक्षक उलुङ्गेलाई शुक्रबारसम्मका लागि गाउँपालिकामा उपस्थित गराइएको हो।
उलुङ्गे सरुमारानी-६ पाङवाङको भुवनेश्वरी प्राविका अनुदान शिक्षक हुन्। पदीय मर्यादा तथा आचरणविपरीत कार्य गरेको पाइए शिक्षकबाट समेत बर्खास्त गर्न सकिने गाउँपालिकाले जनाएको छ।