धनगढी- कैलालीमा एचआइभी संक्रमित एक महिला घरबाटै निकालिएकी छन्। लम्कीचुहा नगरपालिका-८ मलभंगामा आफन्तको घरमा बस्दै आएकी २२ वर्षीय राधा देवकोटालाई घरनिकाला गरिएको हो।
देउरानीले 'घर खाली गर' भनेपछि निक्लिनुपरेको उनको भनाइ छ।
बैसाख २१ गते नियमित स्वास्थ्य चेकजाँच गरी टीकापुरबाट साँझ घर पुगेको बेला देउरानी जमुना देवकोटाले एक्कासि 'तत्काल घर खाली गर' भनेर हप्काएको राधाले बताइन्। 'आज राति बस्न दिनु, भोलि निस्किउँला भनेँ,' उनले सुनाइन्, 'रातभरि सुत्न सकिनँ। भोलि बिहान बच्चा लगेर कहाँ जाने भन्ने चिन्ताले सतायो।'
देउरानीले 'उर्दी' जारी गरेपछि बिहान अनिद्रामै उठेर राधा बच्चा बोकेर सडकमा निस्किएकी थिइन्।
रुँदै सडकमा निस्किएपछि छिमेकी एचआइभी संक्रमित महिला साथीले केही समयका लागि आफ्नो घरमा सामान राखिदिएको उनको भनाइ छ।
देउरानी जमुना देवकोटाले भने आफूले ननिकालेको दाबी गर्छिन्। 'मैले घरबाट निकालेको होइन, आफ्नी छोरीसँग झगडा गरेर आफै घरबाट हिँडेकी हुन्।'
२०७१ सालमा मागी बिहे गरी कालिकोटको सान्नीत्रेवेणी गाउँपालिका गएकी राधाका श्रीमान्को एचआइभीकै कारण २०७५ कात्तिकमा निधन भएको थियो। 'मर्ने अघिल्लो दिनसम्म उनको रोगबारे मलाई थाहा थिएन,' उनी भन्छिन्।
विवाहपछि कान्छी सासूको मृत्यु भयो। श्रीमान्लाई पनि गुमाउनुपरेपछि उनलाई कालिकोटमा बस्न गाह्रो भयो। त्यसपछि दुई वर्षका छोरा र डेढ वर्षकी छोरीसँगै उनी २०७५ मंसिरमा कैलालीमा रहेको परिवारसँग बस्न आइपुगिन्।
कैलाली आएपछि राधा नियमित एचआइभी संक्रमणविरुद्धको औषधि खाइरहेकी छन्।
लम्कीचुहा नगरपालिका-४ कवापुरस्थित माइतीले 'अब नआउनू। हाम्रा लागि मरिस्' भन्ने शब्द र व्यवहारले धेरै दुःखी बनाएको राधा बताउँछिन्।
'सानो उमेरमा विवाह गरिदिए, अहिले समस्या परेको बेला म कहाँ जाऊँ?' उनले भनिन्, 'त्यतिबेला त छोराछोरी सहित मर्ने सोच बनाएकी थिएँ।' लम्कीचुहा नगरपालिकाद्वारा सञ्चालित मनोसामाजिक परामर्श कार्यक्रमका मनोपरामर्शकर्तासँग भेट भएपछि मर्ने सोच हटाई बाँच्ने रहर जागेको उनको भनाइ छ।
घरबाट निकालिएपछि न्यायका लागि वडा कार्यालय पुगेकी राधाले त्यहीँ आएका ऐमानसिंह बुढालाई भेटिन्। जसले अहिले उनलाई शरण दिइरहेका छन्। 'नरोऊ नानी। म तिम्लाई बस्ने ठाउँ दिन्छु' भनेपछि आफू उनको घरमा गएको राधाको भनाइ छ।
८६ वर्षीय बुढाले राधालाई नातिनी मानेर व्यवहार गरिरहेको बताए। 'घृणा गरेर घरबाट निकालिएकी उनी रुँदै भाडामा कोठा खोजिरहेकी रहिछन्,' बुढाले भने, 'उनको इच्छाले जहिलेसम्म बसे पनि बसून्। म भाडा लिन्नँ।' बुढाकी पत्नी ललिताले पनि राधालाई सहयोग गरिरहेकी छन्। 'घरबाट अपहेलनामा परेकी नानीलाई सकेसम्म सहयोग नै गर्नेछौं,' उनले भनिन्।
यसबारे लम्कीचुहा नगरपालिका-८ का वडाध्यक्ष पूर्णबहादुर बिष्टसँग बुझ्दा उनले पीडितका लागि बासको तत्काल व्यवस्था गरिने आश्वासन दिए।