धनगढी– धनगढीमा रहेको एक अस्पतालमा उपचाररत शिशुको मृत्यु भएपछि आफन्तले शव लिन अस्वीकार गरेका छन्।
उपचारका क्रममा लापरबाही भएको आरोप लगाउँदै आफन्तले शिशुको शव लिन नमानेका हुन्।
धनगढीको चटकपुरस्थित माया मेट्रो अस्पतालमा कैलालीको टीकापुर नगरपालिका–५, मनिकापुर बस्ने वीरबहादुर चौधरीको डेढ वर्षीय छोरा विपुल चौधरीको उपचारको क्रममा मृत्यु भएको हो।
आन्द्रामा हर्नियाको समस्या देखिएपछि विपुललाई मंगलबार अस्पताल भर्ना गरिएको थियो।
उनको सोही दिन शल्यक्रिया गरिएको थियो।
अस्पतालका सर्जन डाक्टर विनय तिमल्सिनाले मंगलबार चार बजेतिर नवजात शिशुको हर्नियाको शल्यक्रिया गरेका थिए।
विपुलको बिहीबार बिहान मृत्यु भएको हो।
मृतक शिशुका बुबा वीरबहादुरले भने, 'शल्यक्रियापछि राम्रै थियो तर, अचानक मृत्यु भयो।’
डाक्टर तिमल्सिनाले आफन्तहरूले पानी खुवाएका कारण फोक्सोमा गएपछि श्वासप्रश्वासमा समस्या आएर मृत्यु भएको बताए।
आफन्तहरुले भने अस्पतालको लापरबाहीको कारण छोरा गुमाउनुपरेको आरोप लगाइरहेका छन्।
बुबा वीरबहादुरले भने, 'छोरालाई एनआइसियुमा राखिएको छ। हामीले शव लिएका छैनौं। डाक्टरले चित्त बुझ्दो उत्तर दिएका छैनन्।'
अस्पतालले आफन्तलाई अप्रेसन चार्ज, वेड चार्जसहित अन्य कुरा कुनै नलिने बताएको छ।