काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका दुई सचिवको जिम्मेवारी थपघट गरिएको छ। उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरिय निर्णय गर्दै दुईजनाको जिम्मेवारी थपघट गरेका हुन्।
मन्त्रालयमा गत मंसिरदेखि स्वास्थ्य र प्रशासनतर्फका गरी दुई जना सचिवको व्यवस्था गरिएको छ। तर ६ महिनाको यो अवधिमा स्वास्थ्यमा प्रशासन तर्फका तीन सचिव आइसकेका छन्।
सरकारले वैशाखको पहिलो साता स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फका रामप्रसाद थपलियालाई सचिवको जिम्मेवारी दिएको छ। त्यसअघि उक्त स्थानमा रहेका डा चन्द्रकुमार घिमिरेलाई सरुवा गरेर थपलियालाई मन्त्रालयमा ल्याइएको हो।
कर्णाली प्रदेशबाट स्वास्थ्यमा ल्याइएका सचिव थपलियालाई यसअघि प्रशासनका सचिव भएका घिमिरे र केदारबहादुर अधिकारीको भन्दा थप जिम्मेवारी दिइएको छ। थपलियालाई जिम्मेवारी थप गरेसँगै मन्त्री यादवले डा चौधरीको जिम्मेवारी भने घटाइदिएका छन्।
स्वास्थ्य मन्त्रालयका एक उच्च कर्मचारीका अनुसार मन्त्री यादवले स्वास्थ्य सचिव डा चौधरीको जिम्मेवारीमा रहेको स्वास्थ्य समन्वय महाशाखाको जिम्मेवारी थपलियालाई दिएका हुन्। मन्त्रालयमा उक्त महाशाखालाई बलियो महाशाखाका रुपमा लिइन्छ। विदेशी दातृ निकायदेखि प्रादेश र स्थानीय तहसँगको समन्य गर्ने शाखा उक्त महाशाखा अन्तर्गत पर्दछ।
सचिव थपलियालाई उक्त महाशाखासँगै जनसंख्या महाशाखा, कर्मचारी प्रशासन महाशाखा र विभागहरुमा औषधि व्यवस्था विभाग र आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागको जिम्मेवारी पनि दिइएको छ।
स्वास्थ्य सचिव डा चौधरीको जिम्मेवारी अन्तर्गत नीति योजना, अनुगन महाशाखा, गुणस्तर मापन तथा नियमन महाशाखा र स्वास्थ्य सेवा विभाग हेर्ने जिम्मेवारी दिइएको छ।
मन्त्रालयमा सचिवको जिम्मेवारी थपघट भएसँगै पुनः मन्त्रालयमा विवाद उत्पान्न हुन थालेको बताइएको छ।
सचिव डा चौधरीलाई मन्त्रालयबाट सरुवा गरेर प्रधानमन्त्री कार्यालयमा लैजान सरकारको प्रयास असफल भएपछि उनलाई क्रमशः भूमिकाविहिन बनाउँदै लैजान लागिएको स्वास्थ्यमन्त्री निकटका एक कर्मचारीले जानकारी दिए।
‘सचिव डा चौधरीलाई हटाउने प्रयास असफल भएपछि उहाँको भूमिकालाई माइनस गर्दै लैजान खोजिएको हो,’ उनले भने, ‘अहिलेलाई जिम्मेवारी घटाउँदै लैजाने र संघीय निजामति ऐन आएपछि सरुवा गर्ने तयारी भइरहेको छ।’
संघीय संरचना अनुसार काम अगाडि बढाउनु पर्ने समयमा मन्त्रालयमा पटक पटक सचिवको विषयमा विवाद आउन थालेपछि स्वास्थ्यका काम भने प्रभावित हुँदै गइरहेको मन्त्रालयका कर्मचारी बताउँछन्।