काठमाडौं- नेपाल आँखा अस्पतालले बाराको सिमरामा शाखा अस्पताल स्थापना गर्ने भएको छ ।
सिमरा उप महानगरपालिकाको वडा नम्बर ४ निवासी कासिम मियाँले अस्पताल निमार्ण हेतु रु २ करोड मूल्यबराबरकाे पाँच कठ्ठा जमिन निःशुल्क प्रदान गरेपछि अस्पतालले शाखा बिस्तार गर्ने भएको हो ।
अस्पतालका प्रमुख कार्यकारी अधिकृत दमनबहादुर घलेले उउक्त अस्पतालाई मोतियाविन्दु उपचारको लागि अत्याधुनिक अस्पतालको रुपमा विकास गरिने जानकारी दिए । तराइका जिल्लामा मोतियाविन्दुको बिरामी बढी हुने भएकाले अस्पतालले अत्याधुनिक उपकरण, प्रविधिसहित अस्पताल निर्माण गर्ने योजना बनाएको छ ।
पूर्वाधार निर्माण कार्य सुरु गर्ने कार्य अघि बढाइएको प्रमुख कार्यकारी अधिकृत घलेले जानकारी दिए । उनले दुई वर्षभित्र निर्माणकार्य सम्पन्न गर्ने लक्ष्य लिइएको बताए ।
नेपालको सबैभन्दा जेठो नेपाल आँखा अस्पताल २०३० साल चैत्र २६ गते स्थापना भएको हो । आँखा स्वास्थ्य सेवा प्रदान गर्ने क्रममा नमुना अस्पतालको रुपमा आफुलाई अघि बढाइरहेको सो अस्पतालले उपत्यका बाहिर पनि शाखा अस्पताल स्थापना गरी आँखा स्वास्थ्य सेवा प्रदान गर्ने योजना बनाएको छ ।