काठमाडाैं- सरकारले विगत ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँदै आएको १ लाख रुपैयाँ आर्थिक सहायतामा राेक लगाएकाे खुलासा भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी सचिव डा पुष्पा चौंधरीले बजेटको अभावमा ५ महिनादेखि क्यान्सर रोगीहरुलाई दिँइदै आएको १ लाख रुपैयाँ आर्थिक सहायतामा रोक लगाइएकाे प्रष्ट्याएकी हुन्।
बजेटको अभाव भएकाले सरकारले हाललाई क्यान्सर रोगीहरुको सूची तयार पार्ने काम पनि स्थगित गरिएको पनि सचिव चौंधरीले स्पष्ट पारिन्। आइतबार काठमाडौंमा आयोजित ‘विश्व आँखा क्यान्सर सचेतना सप्ताह’ कार्यक्रममा बोल्दै उनले आँखाको क्यान्सर रोगको उपचारको लागि पनि आगामी आर्थिक वर्षको बजेटमा आवश्यक व्यवस्था गर्ने आश्वासन दिइन्।
सचिव चौंधरीले क्यान्सरजस्ता जटिल रोगहरुको उपचारका लागि सरकारले कम्तीमा पनि ५ लाख आर्थिक सहायता उपलब्ध गराउने प्रयास गरिरहेको पनि जानकारी दिइन्। आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजले तिलगंगा आँखा अस्पतालसँग सहकार्य गरेर सुरु गरिएको सो कार्यक्रममा आँखाको क्यान्सर र त्यसको रोकथामका विषयमा विस्तृत जानकारी दिइनेछ।
कार्यक्रममा बोल्दै तिलगंगा अस्पतालका संस्थापक एवम् कार्यकारी निर्देशक डा सन्दुक रुइतले आँखाको क्यान्सर र त्यसको रोकथामका लागि आवश्यक सबै खालको सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। आँखाको सो रोगको क्षेत्रमा अनुसन्धान गरिरहेको आँखाको प्लाष्टिक शल्य चिकित्सासम्बन्धी नेपाली चिकित्सक समाजलाई सो रोगबारे विस्तृत जानकारी समेटिएको सूचना अनलाईन सेवामार्फत पनि सर्वसाधारणले हेर्ने व्यवस्था गर्न ध्यानाकर्षण गराए।
'रेटिनाेब्लास्टाेमा' भनिने यो रोग ५ वर्षमुनिका बालबालिकामा देखा पर्ने गर्दछ। याे राेग १५ हजारदेखि १८ बनलबालिकामध्ये एक जनामा हुने राेग हाे।