बुटवल– प्रदेश ५को सामाजिक विकास मन्त्रालयलले रगत जाँच गर्ने उपकरण 'हेमाटोलोजी एनालाइजर' खरिदमा मिलेमतो गरेको तथ्य फेला परेको छ।
मन्त्रालय अन्तर्गतको प्रादेशिक स्वास्थ्य आपूर्ती व्यवस्थापन केन्द्रले माताहतका अस्पताल तथा स्वास्थ्य संस्थालाई उपलब्ध गराउन भन्दै १६ वटा हेमाटोलोजी उपकरण खरिदको बोलपत्र आह्वान गरेको छ। तर, उक्त बोलपत्रमा उपकरणका लागि तोकिएका मापदण्ड तथा आवश्यक पर्ने विवरण (स्पेसिफिकेसन) भने एउटा मात्र कम्पनीसँग मिल्ने गरी बनाइएको पाइएको छ।
केन्द्रले उपकरणका लागि आवश्यक पर्ने स्पेसिफिकेसन बनाउनका लागि बायोमेडिकल इन्जिनियरलाई केही समयका लागि नियुक्त गरेको थियो। हिमशिखर बायोमेडिक प्रालीका बायोमेडिकल इन्जिनियर विजयकुमार विष्टलाई नियुक्त गरेका थियो। विष्टले हिमशिखर कम्पनीले नेपालमा भित्र्याइरहेको हेमाटोलोजी उपकरणसँग सबै विवरण मिल्ने गरी स्पेसिफिकेसन बनाइदिएको स्रोत बताउँछ।
हिमशिखरले बि एन्ड इ नाम गरेको कम्पनीले उत्पादन गर्दै आएको ‘हेम्याक्स ३३०’ मोडलको हेमाटोलोजी उपकरणसँग मिल्ने गरी स्पेसिफिकेसन बनाएको तथ्य बाहिर आएको हो।
‘स्पेसिफिकेसनमा एउटा कम्पनीको उपकरणका विवरणमा भएका सबै कुरा मिल्ने गरी मात्र बनाइएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘यो त सरासर अरु कम्पनीलाई बाइपास गरेर एउटालाई मात्र टेन्डर पार्ने नियत हो।’ उनले यस्तो गलत कार्य तत्कालै स्थगन गरेर अरु कम्पनीले पनि प्रतिस्पर्धामा आउनसक्ने गरी स्पेसिफिकेसन बनाउनुपर्ने बताए।
प्रदेशिक आपूर्ती व्यवस्थापन केन्द्रका निमित्त प्रमुख बुद्धि काफ्लले विष्टलाई स्पेसिफिकेसन बनाउन केही समय नियुक्त गरिएको स्विकार गरे। ‘उहाँलाई नियुक्ती गरेको कुरा साँचो हुने,’ उनले भने, ‘तर टेन्डरको विषयमा अहिलेसम्म कुनै उजुरी नपरेका कारण हामीलाई यसको प्राविधिक विषयमा के भयो भन्ने जानकारी छैन।’ उनले टेन्डरका विषयमा कुनै त्यस्तो कैफियत भएमा लिखित उजुरी दिन आग्रह गरे।
सामान्यतया रगत जाँच गर्ने यी उपकरणको मुल्य औषतमा ५ लाख हाराहारी पर्छ। उपकरणसहित आवश्यक केमिकल तथा रिएजेन्ट र अन्य प्राविधिक कुरासहित १६ वटा उपकरणका लागि मन्त्रालयले एक करोड जति मुल्यको टेन्डर आह्वान गरेको हो।
विश्वबजारमा अहिले मेडिकल उपकरण तथा अन्य स्वास्थ्यसँग सम्बन्धित प्रविधिजन्य सामाग्रीका गुणस्तरका लागि अमेरिकाको फुड एन्ड ड्रग एड्मिनिस्ट्रेसनको मापदण्ड अर्थात एफडिएस मापदण्ड प्राप्त उपकरण प्रयोगमा ल्याउन थालिएको छ। तर, उक्त कम्पनीले उत्पादन गरेका उपकरणले यो मापदण्ड पाएको छैन।
स्पेसिफिकेसन बनाउँदा बि एन्ड सीको ‘हिम्याक्स ३३०’ उपकरणको मात्र नभई उपकरणले निकाल्ने नतिजा हेर्ने कागजको आकार र प्रकारसम्म मिल्ने गरी बनाइएको छ।
हेरौं स्पेसिफिकेसन
हेरौं बि एन्ड इ कम्पनीको उपकरणको विवरण