डडेल्धुरा- बच्चा जन्मिएपछि बच्चासँगै सुत्केरीको पनि विशेष हेरचाह गर्ने गरिन्छ। यसका लागि पोषिलो खानेकुरा र स्याहारको आवश्यकता पर्छ। तर, डडेल्धुरा जिल्ला सदरमुकामको अमरगढी नगरपालिका क्षेत्रभित्रै सुत्केरीलाई गाईभैंसीको दूध नदिइने गरेको पाइएको छ।
सुत्केरीलाई घरमा पालेको गाईभैंसीको दूध दिँदा गाईभैंसीलाई रोग लाग्ने तथा दूध दिन छोड्ने रुढीवादी परम्परा समाजमा विद्यमान रहेको एक कार्यक्रमका सहभागीले बताएका छन्। अमरगढी नगरपालिकाले आयोजना गरेको ३ दिने पोषण तालिममा सहभागी स्वास्थ्यकर्मीले सदरमुकाममै सुत्केरीले पोषणयुक्त खानेकुरा अन्तर्गत दूधदही नपाउने गरेको बताए।
‘गाउँतिर त धेरै छ तर यहीँ नगरपालीकाभित्र समेत सुत्केरीलाई घरमा पालेको गाइभैंसीको दूध दिइँदैन,’ सहत्रलिङ स्वास्थ्य चौकी राईकी अनमी तुलसी भट्टले भनिन्, ‘बरु उनीहरुले दूध बजारमा लगेर बेच्छन्। तर, गाई बिग्रिन्छ घरकी सुत्केरीलाई दूध खुवाउँदैनन्।’
आफूहरुले सुत्केरीलाई पोषणयुक्त खानेकुरा खुवाउनु भनेर सम्झाइबुझाइ गरी पठाउने गरे पनि उनीहरुले त्यसलाई लागू नगर्ने भूमिराज स्वास्थ्य चौकीकी अनमी शान्ती भट्टले बताइन्।
पोषणयुक्त खानेकुरा मात्र होइन सुत्केरीहरु सुरक्षित आवासबाट समेत वञ्चित हुने गरेको स्वास्थ्यकर्मीहरु बताउँछन्। सहत्रलिङ स्वास्थ्य चौकी राईकै अर्की अनमी चित्रा माली भन्छिन्, 'नगरभित्र नै सुत्केरीलाई घरको तल्लो तलामा रहेको गोठमा राखिन्छ, कतिपय ठाँउमा त गाईभैंसीको गोठमा समेत राख्ने गरेको पाएका छौं।' माथ्लो तलामा राखे देउता रिसाउँछन् भन्ने अन्धविश्वास अझै पनि कायम रहेको उनले बताइन्।
सुत्केरीलाई पोषणयुक्त खानेकुराबाट वञ्चित गर्दा बालबालिकामा कुपोषण देखिने भएकाले सुत्केरी अवस्थामा झन् बढी पोषिलो खानेकुरा आवश्यक पर्ने अमरगढी स्वास्थ्य शाखाका प्रमुख लोकराज पनेरुले बताए।
डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकाका २६ जना बालबालिकामा कडा कुपोषण देखिएको एक तथ्यांकले देखाएको छ। नगरपालिको पछिल्लो तथ्यांक अनुसार नगरपालिकाभित्र रहेका ५ वर्षमुनिका २ हजार ४ जना बालबालिकामध्ये २६ जनामा कडा शीघ्र कुपोषण देखिएको छ। २ सय ३५ बालबालिकामा भने मध्य शीघ्र कुपोषण देखिएको अमरगढी स्वास्थ्य शाखा प्रमुख पनेरुले जानकारी दिए।