डडेल्धुरा– डडेल्धुराको भागेश्वर गाउँपालिकाले जिल्लामै पहिलो पटक स्मार्ट कार्ड प्रयोग गरी मेसिनबाट सेनेटरी प्याड निकाल्ने मेसिन सञ्चालनमा ल्याएको छ। गाउँपालिकाको वडा नम्बर ४ मा रहेको सरस्वती माध्यमिक विद्यालय बगरकोटमा सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकी अध्यक्ष कौशिला भट्टले बताइन्।
‘छात्राहरुले चाहिएको बेला भिन्नै मेसिनमा स्मार्ट कार्ड छिराएर प्याड निकाल्न सक्ने छन्,’ उनले भनिन्, ‘विद्यालयमा अहिले १ सय १० वटा स्मार्ट कार्ड वितरण गरेका छौं।’ सेनेटरी प्याड मेसिन किशोरीहरुलाई सुरक्षित महसुस हुने भिन्नै स्थानमा राखिएको उनले बताइन्। ‘अब अन्य माध्यमिक विद्यालयमा पनि सेनेटरी प्याड निकाल्ने मेसिन राख्ने योजनामा छौं,’ उनले भनिन्।
मेसिन राखेपछि महिनावारीका कारण छात्राहरु दुई–तीन दिनसम्म विद्यालय नआउने, आइहालेमा पनि सेनेटरी प्याड प्रयोग गर्न नपाउने र कक्षा छाडेर बाहिर निस्कनुपर्ने बाध्यता अन्त्य हुने विद्यालयकी शिक्ष्ीिका भुवनेश्वरी शाहीले बताइन्।
ग्रामीण जलस्रोत व्यवस्थापन परियोजनाको सहयोगमा छात्राहरुको महिनावारी स्वच्छता व्यवस्थापनका लागि स्वचालित सेनेटरी प्याड मेसिन सञ्चालनमा ल्याइएको गाउँपालिकाले जनाएको छ।