काठमाडौं– २०७२ को भूकम्पका कारण क्षतिग्रस्त वीर अस्पताल र थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालका नयाँ भवन जापानी सहयोग नियोग (जाइका) ले स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको छ।
जाइकाले आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता तथा स्वास्थ्य समन्वय महाशाखा प्रमुख महेन्द्रप्रसाद श्रेष्ठलाई भवनको साँचो हस्तान्तरण गरेको हो।
हस्तान्तणपछि प्रवक्ता श्रेष्ठले अबको एक महिनामा दुवै अस्पतालको उद्घाटन गरिने जानकारी दिए।
उनले भने, ‘स्वास्थ्यको सबैभन्दा ठूलो संरचनामध्ये समयमै निर्माण सम्पन्न भएको यो पहिलो संरचना हो। जाइकाले समयमै आफ्नो काम सम्पन्न गरी कामप्रतिको जिम्मेवारीबारे सिकाएको छ।’
स्वास्थ्य क्षेत्रको निर्माणाधीन स्थायी संरचनामध्ये जाइकाले समयमै वीर र प्रसूतिको अत्याधुनिक भवन निर्माण गरी मन्त्रालयलाई बुझाएको स्वास्थ्य मन्त्रालयका प्रमुख पूर्वाधार सल्लाहकार सुनिल खड्काले बताए।
जाइकाले भवन निर्माणसँगै अस्पतालमा आवश्यक उपकरणहरु, शैय्या र आवश्यक अन्य सामग्रीहरु समेत उपलब्ध गराएको छ।
भूकम्पका कारण वीर अस्पतालको नयाँ आइसियू भवन, मेडिकल रेकर्ड शाखा रहेको भवन र फोहोरमैला व्यवस्थापन केन्द्रको भवनमा क्षति पुगेको थियो।
त्यसैगरी प्रसूति गृहको २ सय ६० शय्या रहेको भवनमा भूकम्पले क्षति पु¥याएको थियो। अस्पतालले उक्त भवनका सेवा अन्य भवनमा सारेर मुस्किलले सेवा प्रदान गरिरहेकोमा अब नयाँ भवनबाट सेवा दिने छ।
प्रसूति गृहको नयाँ भवनमा २४ शय्याको आकस्मिक कक्ष, चिकित्सकको निगरानीमा हुने डेलिभरी रुम, नर्सको निगरानीमा हुने बर्थिङ सेन्टर, दुई वटा शल्यक्रिया कक्ष, पोस्ट अपरेटिभ वार्ड, १२ शय्याको आमाहरुका लागि आइसियू, ४० शय्याको बच्चाको आइसियू रहेका छन्।
वीरको नयाँ भवन ९२ शय्याको हुने छ। उक्त भवनमा मुटु, मिर्गौला र पेट रोग विभागहरु सञ्चालन हुने छन्।
त्यसैगरी अस्पतालको उक्त भवनमा शल्यक्रिया कक्ष, भेन्टिलेटर सहितको आइसियू कक्ष समेत राखिएको बताइएको छ। दुवै अस्पतालका भवन पुरानै मौलिकता झल्कनेगरी बनाइएको छ।