काठमाडौं- उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले स्वास्थ्यतर्फ बजेट नै कम भएको बताउँदै आगामी आर्थिक वर्षको कूल बजेटबाट १० प्रतिशत बजेट स्वास्थ्य सेवालाई विनियोजन गर्न आफूले पहल गरिरहेको बताएका छन्।
कान्ति बाल अस्पतालको बिहीबार निरीक्षण गर्दै मन्त्री यादवले अस्पतालको जनशक्ति अभाव र पूर्वाधार विकासमा सहयोग गर्ने बताए।
अस्पतालमा आयोजित मेडिकल उपकरण हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै उनले कर्मचारी समायोजन सम्पन्न भएलगत्तै देशभरिको स्वास्थ्य जनशक्ति, अस्पतालको भौतिक तथा प्राविधिक अवस्था र मेडिकल उपकरण पुर्याउन पहल गर्ने जानकारी दिए।
सो अवसरमा स्वास्थ्य सचिव रामप्रसाद थपलियाले कान्ति बाल अस्पतालमा कर्मचारी दरबन्दी समस्याको चाँडै व्यवस्था हुने बताए।
अस्पतालका निर्देशक डा गणेश राईले अस्पताल विभिन्न समस्यासँग गुज्रिरहेको बताउँदै अस्पताललाई बाल स्वास्थ्य अध्ययन अनुसन्धान केन्द्र बनाउने लक्ष्य रहेको बताए।
स्वास्थ्य सेवा विभागको परिवार कल्याण स्वास्थ्य महाशाखाले करिब ८० लाख मूल्यको उपकरण बिहीबार कान्ति बाल अस्पताललाई उपलब्ध गराएको छ।