काठमाडौं– नेप्लिज नर्सिङ एसोसिएसन, बेलायतले आन्दोलनरत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ।
पेसागत हकहितको सुरक्षा, पारदर्शी छनोट प्रक्रिया र पेसागत संगठनको कार्यदक्षताको सवाल उठाउँदै आन्दोलन गरिरहेका प्रत्यारोपण केन्द्रका नर्सप्रति भएको प्रहरी हस्तक्षेप र दमनप्रति गम्भीर ध्यानाकर्षण भएको पनि एसोसिएसनले विज्ञप्तिमार्फत जनाएको छ।
विज्ञप्तिमा एसोसिएसनले बेथितिविरुद्ध आवाज निकाल्दै आमरण अनसन बसेका नर्सद्वय जिता बराल र डिक्की शेर्पा र अन्य आन्दोलरनत नर्सप्रति पूर्ण समर्थन रहेको उल्लेख गरेको छ।
‘एसोसिएसनले आन्दोलनरत नर्सहरु विरुद्ध नेपाल नर्सिङ संघको हाताभित्रै भएको प्रहरी हस्तक्षेपको घोर भत्सर्ना गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।
एसोसिएसनले नेपालमा नर्सहरुले रोजगारी नपाउने र उनीहरुको श्रम शोषण भएको बताउँदै नीति निर्माण तहबाट कदम चाल्नुपर्ने सुझाव समेत दिएको छ। त्यसैगरी हाल विवादमा आएको विभिन्न अस्पतालको कर्मचारी छनोट प्रक्रिया तत्काल सुल्झाउन सबै सरोकारवालाहरुलई आह्वान गरेको छ।
एसोसिएसनका अध्यक्ष विनोद विकास सिम्खडाले यो समस्या सुल्झाउन स्वास्थ्य मन्त्रालय, श्रम मन्त्रालय र नर्सिङ संघको भूमिका निर्णायक हुने बताएका छन्।
