काठमाडौं –निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन नेपाल(अफिन)को २० औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ।
सोही अवसरमा स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री सुरेन्द्र कुमार यादवले निजी अस्पतालहरुको जायज मागहरु पुरा गर्न सरकार प्रतिबद्ध रहेको र नविकरण तथा मापदण्ड संसोधन लगायतका मागहरु सम्बोधन गर्न सरकारी पक्षबाट द्रुत गतिमा कार्य अगाडी बढिरहेको बताए।
कार्यक्रममा बोल्दै अफिनका अध्यक्ष बसन्तकुमार चौधरीले खर्बौँको लगानी गरी लाखौँको रोजगारी सिर्जना गरेर करिब १६ हजार शैया मार्फत नागरिकको स्वास्थ्य उपचारमा समर्पित भएपनि निजी स्वास्थ्य क्षेत्रलाई राज्यले पुरकको रुपमा हालसम्म स्वीकार गर्न नसकेको दुःखेसो पोखे।
अफिनका महासचिव हेमराज दाहलले सभामा निजी क्षेत्रका वर्तमान चुनौती तथा समस्याहरु लगायत अल्पकालिन तथा दिर्घकालिन योजनाहरु समेटिएको प्रतिवदेन प्रस्तुत गरेका थिए।
कार्यक्रममा अफिनकी कोषाध्यक्ष स्वरुपा श्रेष्ठले आर्थिक प्रतिवेदन पेस गरेकी थिइन्।
कार्यक्रममा देशभरीबाट करिब १७५ निजी अस्पतालका सञ्चालक एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो।


