डडेल्धुरा- सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बैतडी औलोको जोखिममा छ। सामान्यतया तराईका जिल्लामा बढी देखिने औलोरोग पछिल्लो तीन वर्षयता बैतडीमा पनि देखिन थालेको हो।
जिल्लाको मेलौली नगरपालिका, शिवनाथ गाउँपालिका र पञ्चेश्वर गाउँपालिकाका केही वडामा औलोका बिरामी फेला परेका स्वास्थ्य कार्यालय बैतडीका स्वास्थ्य सहायक सन्तोष पाण्डेयले बताए। स्वास्थ्य कार्यालय बैतडीका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ६७ जना औलोको बिरामी फेला परेका थिए।
गत वर्ष ५४ जना औलाको बिरामी फेला परेका स्वास्थ्य कार्यालय बैतडीका प्रमुख निशा जोशीले बताइन्। चालु आर्थिक वर्षको चैतसम्म १८ जना औलोका बिरामी फेला परेका उनले बताइन्। मौसममा आएको परिवर्तन, लामखुट्टे वृद्धि हुँदै जानुले औलोका बिरामी पहाडी जिल्लामासमेत देखा पर्न थालेका उनको भनाइ छ।
तराईका जिल्लामा देखिने औलोरोग पहाडी जिल्लामा पनि देखिन थालेपछि सुत्दा झुलको प्रयोग गर्न स्वास्थ्यकर्मीहरुले सुझाएका छन्। जिल्लाको मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकाका केही वडामा गर्भवती महिलालाई नि:शुल्क रुपमा झुल वितरण गरिएको स्वास्थ्य कार्यालय बैतडीले जनाएको छ। औलो देखिएको क्षेत्रमा घरघरमा स्प्रे गरेर लामखुट्टे मार्ने अभियान सञ्चालन भएको स्वास्थ्य सहायक पाण्डेयले बताए।
मेलौली नगरपालिका र शिवनाथ गाउँपालिकामा औलोको बिरामी फेला परेपछि औलोरोगबाट बच्ने उपायका बारेमा दशरथचन्द नगरपालिकामा समेत सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएका छन्।भारतसँग सीमा जोडिएको नगरपालिका भएको र महाकाली किनारका बस्तीहरुमा लामखुट्टे पनि भएकाले औलो रोगबाट बच्ने उपायका बारेमा छलफल गर्ने गरिएको स्वास्थ्य सहायक पाण्डेयले बताए।