काठमाडौं– सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा आन्दोलनरत नर्सको मागका विषयमा अहिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा वार्ता भइरहेको छ।
नेपाल नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले जिल्ला प्रशासन कार्यालय भक्तपुरका सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा वार्ता भइरहेको जानकारी दिइन्।
वार्तामा मन्त्रालयका प्रतिनिधि, प्रत्यारोपण प्रत्यारोपण केन्द्रका ५ जना पदाधिकारी र आन्दोलनरत नर्स पाँच जना सहभागी भएको बताइएको छ।
प्रत्यारोपण केन्द्रमा र नर्सिङ संघमा धर्ना बस्दा समेत आफ्ना माग पूरा नभएपछि विगत १० दिनदेखि अस्पतालकी नर्स दिक्की शेर्पा केन्द्रबाट र पोखराकी नर्स जिता बराल नर्सिङ संघबाट आमरण अनसन बसिरहेका छन्। उनीहरुको स्वास्थ्य बिग्रँदै गएपछि दुवै जनालाई अस्पतालमा भर्ना गरिएको छ।
लगातारको आन्दोलन र अनसनका कारण बिहीबार नर्सिङ संघको पहलमा केन्द्रले लोकसेवा आयोगलाई पत्र पठाई परीक्षा स्थगित गर्न आग्रह गरेको थियो। तर शुक्रबार लोकसेवा आयोगले भने परीक्षा स्थगित नगर्ने निणर्य गरिसकेको छ।
कर्मचारीलाई स्थायी गर्नुपर्ने, काम र अनुभव हेरेर बढुवा गर्नुपर्ने, काम गर्दै आएका कर्मचारीलाई प्रोत्साहन गर्नुपर्ने, जोखिमभत्ता प्रदान गर्नुपर्ने, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा हुने सम्मेलनमा कार्यरत कर्मचारीलाई अवसर दिनुपर्ने लगायतका माग आन्दोलनरत नर्सले राख्दै आएका छन्।
नर्सहरुको मागविपरीत लोकसेवा आयोगको विज्ञापन खुलेपछि उनीहरु आन्दोलनमा उत्रेका हुन्।