बागलुङ– जैमिनी नगरपालिकाका स्रोत व्यक्ति विष्णु सापकोटा बागलुङ कालिका भगवती मन्दिरको दर्शन गर्न आउँदा सार्वजनिक स्थलमै स्वास्थ्यकर्मीले सर्वसाधारणको स्वास्थ्य जाँच गरिरहेको देखे। उनी कालिका मन्दिरको प्रवेशद्वार नजिकै टेबुल, कुर्सी राखेर भक्तजनको स्वास्थ्य परीक्षण गरिरहेको स्थलतर्फ बढे र आफ्नो स्वास्थ्य जाँच गराए।
मन्दिर दर्शनका लागि आएका सापकोटाले स्वास्थ्य जाँच गर्न पाउँदा साच्चिकै मन्दिरमा भगवान भेटिएको महसुस भएको बताए।
सापकोटा मात्र होइन, मन्दिरमा आउने अन्य जिल्लाका सर्वसाधारण पनि आफ्नो स्वास्थ्य जाँच गर्न पाउँदा निकै खुसी भएका थिए।
स्वास्थ्य कार्यालय बागलुङको आयोजनामा कालिका मन्दिर प्रवेशद्वारसँगै सदरमुकामका अन्य स्थानमा पनि सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको छ।
कार्यालयले संचालन गरेको नसर्ने रोगहरुको विरुद्धमा जनस्वास्थ्य अभियान अन्तर्गत सदरमुकामका विभिन्न स्थानमा सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको हो।
कालिका मन्दिरका साथै बागलुुङ बजारको समीक्षालय चोक, लोकतान्त्रिक चोकमा सर्वसाधारणको स्वास्थ्य परीक्षण गरिएको हो।
शरीरका प्यारामिटरहरु थाहा पाउन नसर्ने रोगविरुद्धको जनस्वास्थ्य अभियान अन्तर्गत विश्वभरि नै मे महिनालाई मिजरमेन्ट महिनाको रुपमा मनाउने उद्देश्यले सार्वजनिक स्थानमा सर्वसाधारणको स्वास्थ्य जाँच गरिएको स्वास्थ्य कार्यालय बागलुङका वरिष्ठ जनस्वास्थ्य प्रशासन दीपकप्रसाद तिवारीले जानकारी दिए।
अभियानमा चिकित्सक र स्वास्थ्यकर्मीको सहभागितामा सर्वसाधारणको स्वास्थ्य जाँच गरिने तिवारीले बताए। अभियानमा विशेषतः सर्वसाधारणको सुगर, ब्लड प्रेसर, र मोटोपनको जाँच गरिएको छ।
बटुवा, सवारी चालक, मन्दिरमा आउने दर्शानार्थी जो कोहीको पनि निःशुल्क स्वास्थ्य जाँच गरिने कार्यालयले जनाएको छ। तीन दिनसम्म सञ्चालन हुने अभियानका पहिलो दिन शनिबार झन्डै ५ सय सर्वसाधारणले आफ्नो स्वास्थ्य जाँच गरेको स्वास्थ्य कार्यालयले जनाएको छ।
अभियानको पहिलो दिन जिल्ला समन्वय प्रमुख राजेन्द्र ढुंगाना, बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेल, प्रमुख जिल्ला अधिकारी लुकबहादुर क्षेत्री लगायत जिल्लाका विशिष्ट व्यक्तिहरुको धौलागिरी अञ्चल अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डन्ट सागरकुमार राजभण्डारीले स्वास्थ्य जाँच गरेका थिए।
अभियान सञ्चालनका लागि धौलागिरी प्राविधिक प्रतिष्ठान, हान गण्डकी प्रदेश, बागलुङ नगरपालिकाको सहयोग रहेको स्वास्थ्य कार्यालय बागलुङले जनाएको छ।