राजविराज– राजविराजमा तीन दिनभित्रै ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ पूर्वाधार तयारी विकास समितिको कार्यालय सञ्चालन हुने भएको छ ।
प्रतिष्ठानको कामलाई तिव्रता दिन जतिसक्दो चाँडो कार्यालय सञ्चालनमा ल्याइने समितिका सदस्य सचिव तथा कार्यकारी निर्देशक सञ्जय ठाकुरले जानकारी दिए। वैशाख २२ गते कार्यकारी निर्देशकमा नियुक्त भएका ठाकुुर कार्यालय सञ्चालन तथा आवश्यक तयारीका लागि राजविराज आएका छन्।
गठन आदेश पारित
मन्त्रिपरिषद् बैठकले ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान’ पूर्वाधार तयारी विकास समिति (गठन) आदेश पारित गरिसकेको उनले जानकारी दिए। ९ सदस्यीय समितिमा पदेन सदस्यको टुङ्गो लागिसकेको र सरकारले नियुक्त गर्ने पदाधिकारी र सदस्यको टुङ्गो लागेपछि समितिले पूर्णता पाउने छ।
समितिको पहिलो बैठक बसेको मितिले २५ महिना वा प्रतिष्ठान व्यवस्थापन गर्ने सम्बन्धमा जारी भएको ऐन प्रारम्भ भएको मितिले ४५ दिनभित्र समितिले आफनो काम सम्पन्न गर्ने छ। ‘गठन आदेशअनुसार समितिको पदावधि २५ महिना छ’ ठाकुरले भने, ‘तर, हामी आफ्नो जिम्मेवारी एक वर्षभित्रै सम्पन्न गर्ने गरी काम गर्छाैं ।’
हरेक प्रदेशमा एउटा स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउने सरकारी रणनीति अनुसार प्रदेश २ को राजविराजमा रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माण गर्न लागिएको हो।
मन्त्रिपरिषद्को २०७५ पुस २३ गतेको बैठकले सप्तरीको राजविराजमा प्रतिष्ठान स्थापना गर्ने निर्णय गरेको थियो। जसका लागि राजविराज नगरपालिकाले वडा नम्बर १० स्थित बिरौल चोकमा ६२ विघा जग्गा उपलब्ध गराएको छ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का शिक्षाध्यक्ष डा सुवोध अधिकारीको संयोजकत्वमा गठित ‘रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान सुझाव समिति’ ले गत वैशाख ६ गते प्रतिष्ठान निर्माणस्थलको निरीक्षण गरेको थियो। यसअघि स्वास्थ्यमन्त्री उपेन्द्र यादव तथा प्राविधिकको टोलीले पनि जग्गाको निरीक्षण गरिसकेको छ।