काठमाडौं- चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले आमरण अनसनमा बसेका दुई जना नर्सको माग पूरा गर्न सरकारसँग आग्रह गरेका छन्।
डा केसीले आज विज्ञप्ति जारी गर्दै पेशागत सुधार र न्यायको माग गर्दै अनसनरत नर्सहरु जिता बराल र डिकी शेर्पाको माग पूरा गर्न आग्रह गरेका हुन्।
भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्सहरुको मागलाई लिएर दुई जना नर्स १० दिनदेखि अनसन बसेका छन्। अनसनका कारण उनीहरुको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ।
'अनसनरत नर्सहरु जिता बराल र डिकी शेर्पाको बिग्रँदो स्वास्थ्य अवस्था तथा सरकारले उहाँहरुको मागप्रति देखाएको चरम असंवेदनशीलताप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ', डा केसीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'स्वास्थ्य सेवा प्रवाहमा अद्वितीय भूमिका हुने नर्सहरु चर्को श्रम शोषणमा पर्नु, पेशागत सुरक्षा नहुनु, पेशागत माग राख्दा अपमानित हुनु, बारम्बार जायज आवाजहरु उठाइरहँदा कतै पनि सुनुवाइ नहुनु तथा केही सिप नलागेर अनसनरत हुँदा समेत राज्य र सम्बन्धित निकाय संवेदित नहुनु हाम्रो समाजकै लागि लाजमर्दो कुरा हो।'
डा केसीले चिकित्सा तथा स्वास्थ्य शिक्षाको व्यापारीकरण रोक्न पनि माग गरेका छन्।
'तत्काल अनसनरत अभियन्ताद्वयका मागहरु पूरा गर्न सरकारको ध्यानाकर्षण गराउँछौं। दीर्घकालमा चाहिँ हाल कायम चिकित्सा तथा स्वास्थ्य शिक्षाको अन्धाधुन्ध व्यापारीकरण रोकेर दीर्घकालीन योजनासहित आवश्यक मात्रामा गुणस्तरीय जनशक्ति उत्पादन गर्ने तथा स्वास्थ्य सेवालाई भुइँतहसम्म विस्तार गर्दै उत्पादित जनशक्तिलाई आत्मसम्मानसहितको रोजगारीको व्यवस्था गर्न माग गर्दर्छौं' विज्ञप्तिमा भनिएको छ।