काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघीय संरचना अनुसार कर्मचारी समायोजनको काम सकिएको दाबी गरे पनि स्वास्थ्य सेवा अन्तर्गतको समायोजनको काम भने अहिलेसम्म हुन सकेको छैन।
स्वास्थ्यका तल्लोतहदेखि माथिल्लो तहसम्म समायोजन भएका कर्मचारीले अहिलेसम्म पत्र पाउन सकेका छैनन्। सामान्य प्रशासनले सबैभन्दा पहिला ११ औं तहका कर्मचारीको समायोजन सकेर पत्र दिने बताए पनि अहिलेसम्म उक्त काम पनि सम्पन्न हुन सकेको छैन।
स्वास्थ्य सेवाका ११ औं तहका १ सय ५६ कर्मचारीको फाइला सामान्य प्रशासनबाट मन्त्रिपरिषद्मा पुगेको थियो। तर, उक्त फाइलमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले नै केही कुरामा असहमति जनाएपछि उक्त फाइलका विषयमा अझै निर्णय हुन सकेको छैन।
उपप्रधानमन्त्रीले नै केही बुँदामा असहमति जनाएपछि स्वास्थ्यका ११ औं तहका कर्मचारीको समायोजनको फाइल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नै अड्किएको हो। स्वास्थ्यमन्त्री यादव विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन स्विजरल्यान्डको जेनेभा गइसकेका छन्। त्यसकारण यो विषयमा निर्णय हुन अझै केही दिन लाग्ने देखिएको छ।
सामान्य प्रशासनले पठाएको १ सय ५६ जनाको समायोजनको फाइलका विषयमा मन्त्रिपरिषद्बाट भने निर्णय भइसकेको छ। तर, उक्त निर्णयपछि मुख्यसचिव लोकदर्शन रेग्मीले हस्ताक्षर गर्ने समयमा मन्त्री यादवले केही कुरामा असहमति जनाएपछि हस्ताक्षरको काम रोकिएको हो।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार मन्त्री यादवले राखेको असहमतिका विषयमा कुरा भइसकेको छ। मन्त्री यादव जेनेभाबाट फर्किए लगत्तै समायोजनको पत्र पठाउने काम अगाडि बढ्ने स्रोत बताउँछ।