काठमाडौं– भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रकी अनसनरत नर्स डिक्की शेर्पाले आफ्नो अनसन नतोडेको दाबी गरेकी छिन्।
आन्दोलनरत नर्स र अस्पताल प्रशासनबीच १० बुँदे सहमतिपछि जुस खाएर अनसन तोडेको २४ घन्टा नबित्दै उनले सामाजिक सन्जालमा लाइभ गर्दै आफूले अनसन नतोडेको बताएकी हुन्।
आइतबार साँझ कर्मचारी युनियनका तर्फबाट आन्दोलनरत तीन नर्स रविता सितिखू, प्रविना कार्की र सजना देउलाले हस्ताक्षर गरी अस्पताल प्रशासनसित १० बुँदे सम्झौता गरेका थिए।
नर्सिङ संघ, अस्पताल प्रशासन, शेर्पा महिला संघ र सम्झौताका हस्ताक्षरकर्ता तथा अफन्तको समेत उपस्थितिमा शेर्पाले जुस पिएर अनसन तोडेकी थिइन्।
तर सोमबार फेसबुक लाइभ गर्दै आफू अर्धचेत अवस्थामा भएका बेला मागको सम्बोधन नै नभई अनसन तोडाइएकाले आफूलाई मान्य नहुने र अनसन जारी भएको प्रतिक्रिया शेर्पाले दिएकी छन्।
‘आइतबार मेरो मुटुको चाल बढेपछि निद्रा लाग्ने औषधि खाएर बसेकाले म अर्धचेत अवस्थामा थिएँ, मलाई सुनाइएको अस्पताल प्रशासनसितको सम्झौता र पिलाइएको जुसबारे मलाई केही पनि थाहा छैन,’ उनले भनिन्।
आन्दोलनरत नर्स र केन्द्र प्रशासनबीच वार्ता र सम्झौता गराउन महत्वपूर्ण भूमिका खेलेकी तथा सम्झौतामा हस्ताक्षर गरेकी नर्सिङ संघकी अध्यक्ष तारा पोखरेलले भने आन्दोलनरत नर्सहरूका सबै माग पूरा भएको र पूर्ण होस्–हवास्मै अनसन तोडाइएको बताइन्।
उनका अनुसार अनसनकारी शेर्पाका आमा, मामालगायत आफन्त, नातेदार तथा नर्सिङ संघ, सहायक जिल्ला अधिकारी, अस्पतालका निर्देशक र पुलिस समेतको उपस्थितिमा पूर्ण होस्–हवास्मै सम्झौताका बुँदा पढेर शेर्पाले अनसन तोडेकी हुन्।
‘उहाँहरूको माग भनेकै ५–६ वर्ष काम गरिसकेकाले स्वतः स्थायी हुन पाउनुपर्छ भन्ने नै हो, जुन कानुनले दिँदैन। हामीले गर्ने सक्ने ग¥यांै, अब उहाँको मागलाई केही गर्न सक्दैनौँ। ’
११ दिनदेखि नै अनसनरत पोखराकी नर्स जीता बरालले भने केन्द्रको सम्झौतामा आफ्नो माग सीमित नभएको जनाउँदै अनसनलाई निरन्तरता दिएकी छिन्। केन्द्रमा कार्यरत नर्सको मात्र नभई समग्र नर्सको न्याय र नर्सिङ क्षेत्रको सुधारको मागसहित बराल संघबाट अनसन बसेकी थिइन्। केही दिनदेखि स्वास्थ्य अवस्था बिग्रिएकोले उनलाई बसुन्धरास्थित बिपी स्मृति अस्पतालमा भर्ना गरिएको छ।
बरालको समेत अनसन तोडाउन आइतबार केन्द्रका नर्सको सम्झौतापत्र लिएर नर्सिङ संघका पदाधिकारी उनीसमक्ष पुगेका थिए। तर आफूले उठाएका माग सम्झौतापत्रमा नसमेटिएको भन्दै उनले फिर्ता पठाएकी थिइन्।
संघकी अध्यक्ष पोखरेलले आज संघमा छलफल गरेर बरालकोे अनसन तोडाउन अस्पताल जाने बताइन्।