काठमाडौं- नर्सहरुका विषयमा १० बुँदे माग राख्दै १३ दिनेदेखि आमरण अनसनमा बसेकी नर्स जीता बरालले प्रधानमन्त्री केपी शर्मालाई खुलापत्र लेखेकी छिन्।
अनसनका कारण स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि बिपी स्मृती अस्पतालमा लगिएकी बरालले अस्पतालमा नै अनसन जारी राखेकी छिन्। उनले अनसनस्थलबाट नै प्रधानमन्त्रीलाई १० बुँदे मागसहितको खुलापत्र लेखेकी हुन्।
नर्स बरालले नेपालमा हाल ८७ हजार नर्स उत्पादन भइसकेको भन्दै उनीहरुको हकहितका लागि अनसन बसेको बताउँदै आइरहेकी छिन्। प्रधानमन्त्रीलाई लेखिएको खुलापत्रमा नर्सिङ पेशामा रहेका विकृति, विसंगति तथा श्रम शोषणको अन्त्य गर्न माग गरिएको छ।
यस्तो छ बरालको खुला पत्र :
सम्माननीय प्रधानमन्त्री ज्यू
विषय : पेशागत माग सम्बोधन तथा कार्यान्वयन गर्ने सम्बन्धमा
प्रस्तुत विषयमा म नर्स जीता बराल नेपाल नर्सिङ संघको आजिवन सदस्य यही वैशाख २७ गत दिउसो २ बजेदेखि नेपाल नर्सिङ संघको केन्द्रिय कार्यालयमा आमरण अनसनमा रहेको र छातीको संक्रमणका कारण बिपी स्मृति अस्पतालमा उपचारार्थ रहेको जानकारी गराउँदछु। नर्सिङ पेशाको वेथिती, अन्याय, अत्याचार, चरम श्रम शोषण, दमनका विरुद्धमा मेरो अनसन कार्यक्रम रहेको छ। यस पेशामा ८७ हजार नर्सहरु उत्पादन भएका छन्। हालसम्म भने बेरोजगारको संख्या वृद्धि छ भने सरकारी तथा निजीमा विभिन्न बहानामा चरम श्रम शोषण बढीरहेको छ। यी सबै बेथिती, विकृति र अन्यायको लागि आवाज बुलन्द गरिरँहदा सरोकार पक्ष संघ संस्था, स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराउन चाहन्छु भने सबै नर्सहरुका लािग न्यायोचित नीति निर्माण गर्न पनि आवश्इक छ। यसै सन्दर्भमा अन्यायमा परेका नर्सहरुको आन्दोलनको समेत ऐक्वयवद्धता जनाउँदै आफ्ना हक अधिकार र न्यायका लागि आवाज उठाउँदा गरिएको चर्को दमन प्रति घोर भत्सर्ना गर्दै नर्सहरुका सबै समस्याहरुको स्थायी रुपमा समाधान गर्न हार्दिक अपिल गर्दछु। इस सम्बन्धी मेरा मागहरु यस प्रकार छन् :
१. विश्व स्वास्थ्य संगठनको नीति बमोजिम नर्स र बिरामीको अनुपात मिलाउनु पर्ने।
२. नर्सहरुको उचित सम्मान गर्दै तहगत पारिश्रमिक तथा सेवा सुविधाको व्यवस्था सबै संस्थाहरुमा गराउने।
३. नर्सिङ परिषदमा रिक्त सबै पदहरुको पदपूर्ति गरी नर्सिङ शिक्षा तथा नर्सिङ सेवाको गुणस्तरियता सुनुश्चित गर्ने।
४. नर्सिङ महाशाखालाई क्रियाशिल बनाइ नर्सिङ पेशालाई व्यवस्थित गर्ने।
५. नर्स तथा अन्य स्वास्थ्यकर्मीमा कुनै प्रकारको विभेद नगर्ने।
६. नर्सको मानव अधिकार स्थापित हुनेगरी कार्यविवरण तयार गरी लागू गर्ने।
७. नर्सहरुमाथि हुने कार्यस्थल हिँसाको विशेष कानुन निर्माण गर्ने।
८. नर्सिङ सेवा सम्बन्धि ऐन निर्माण गर्ने, स्वास्थ्य सेवा ऐन संशोधन गर्ने।
९. प्रत्येक स्थानीयत तह र स्वास्थ्य चौकीहरुमा २४ सै घन्टा सेवा दिन कम्तिमा ४ जना नर्सहरुको दरबन्दी हुनुपर्ने।
१०. संघ, प्रदेश र स्थानीय तहहरुमा नर्सिङको छुट्टै शाखा हुनुपर्ने र संयोजक समेत नर्स हुनुपर्ने।
जीता बराल
आजीवन सदस्य
नेपाल नर्सिङ संघ