काठमाडौं- नेपाल रेडक्रस सोसाइटीको नवगठित तदर्थ समितिले प्रक्रियाविपरीत जिल्ला अधिवेशन गरेका जिल्ला समितिहरु भंग गर्ने भएको छ।
कागजात प्रमाण नष्ट गर्न सक्ने भएको जनाउँदै भक्तपुर, उदयपुर, मकवानपुर, नवलपरासी पश्चिम र मुस्ताङ र कैलाली जिल्ला शाखा भंग गर्ने तदर्थ समिति स्रोतले जानकारी गराएको छ। साथै, प्रदेश नम्बर ३ को प्रदेशसभा कार्यसमितिको स्थानमा नयाँ समिति बनाउने जानकारी गराइएको छ।
आइतबार बस्ने तदर्थ समितिको पहिलो बैठकले निर्वतमान कार्यसमितिले पद्धतिविपरीत गरेका जिल्ला अधिवेसनबाट निर्वाचितहरुलाई हटाउने तयारी गरेको छ। भंग भएका जिल्ला कार्यसमिति एक साताभित्र गठन गरिने बताइएको छ।
वैधानिक दायित्व पूरा नगरी निर्वाचन भएका उपशाखाहरुको विघटन गर्न प्रशासनले नयाँ कार्यसमितिलाई कार्यादेश दिएको छ।
यसैबीच, निवर्तमान कार्यसमितिका ३१ जनामध्येबाट नयाँ कार्यसमितिमा स्थान दिन प्रशासनले इन्कार गरेको छ। अनियमितताको आरोप लागि छानबिनको क्रममा रहेकाले पूर्व पदाधिकारीबाट तदर्थ समितिमा कुनै पनि व्यक्ति नरहने जनाइएको छ।
अख्तियार, गृह, परराष्ट्र र जिल्ला प्रशासन कार्यालय काठमाडौंमा अनियमितताको उजुरी परेपछि सञ्जीव थापा नेतृत्वमा रहेको कार्यसमितिलाई भंग गरिएको थियो। प्रशासनले गत सोमबार १७ सदस्यीय तदर्थ समिति गठन गरेको थियो।