काठमाडौं– उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले तोकिएको समयभन्दा दुई वर्षअगावै रुबेला रोग नियन्त्रणमा ल्याएको बताएका छन्।
विश्व स्वास्थ्य संगठनको ७२औँ महासभालाई बुधबार जेनेभामा सम्बोधन गर्दै उपप्रधानमन्त्री यादवले नेपालले खस्रे रोग नियन्त्रणमा पनि उपलब्ध हासिल गरेको बताए।
स्वास्थ्यमन्त्री यादवले नेपालले दिगो विकासको लक्ष्य हासिल गर्नका लागि स्वास्थ्यमा सर्वव्यापी पहुँचको सुनिश्चितता गर्न महत्वपूर्ण कदम चालेको उल्लेख गरे।
उनले भने, ‘स्वास्थ्यसँग सम्बन्धित लक्ष्य हासिल गर्न गरेका कार्यहरुले कसैलाई पनि सेवाबाट वञ्चित हुन दिँदैनन्।’
स्वास्थ्यको एजेन्डालाई मूलधारमा ल्याई प्राथमिक स्वास्थ्य सेवाको सुदृढीकरण, औषधिको मूल्यमा नियन्त्रण, नसर्ने रोगहरुको भार कम गर्ने जस्ता कार्यहरु गरी गुणस्तरीय स्वास्थ्य सेवामा समतामूलक पहुँच बढाउने स्वास्थ्यमन्त्री यादवले बताएका छन्।
यसैबीच, उपप्रधान तथा स्वास्थ्यमन्त्री यादवले चीनका राष्ट्रिय स्वास्थ्य आयोगका मन्त्री म छिवईसँग स्वास्थ्यको क्षेत्रमा द्विपक्षीय पारस्परिक हित र सहयोगलाई सुदृढीकरण गर्नेबारे छलफल गरेका छन् ।
सम्मेलनमा नेपालसहित आठ राष्ट्रले आयोजना गरेको कार्यक्रममा स्वास्थ्यमा सर्वव्यापी पहुँच बढाउन महिला, बालबालिका तथा किशोरकिशोरीको स्वास्थ्यसम्बन्धी विश्वव्यापी रणनीतिको विषयमा छलफल भएको थियो।
स्वास्थ्य सचिव डा पुष्पा चौधरीले स्वस्थ जीवनको लागि विश्वव्यापी कार्ययोजनाको बारेमा धारणा राखेकी थिइन्।
दिगो विकासको लक्ष्य प्राप्त गर्न नेपालले प्राथमितामा राखेका कार्यक्रमहरु र आगामी दिनमा आउने चुनौतीका बारेमा पनि डा चौधरी जानकारी गराएकी थिइन्।
गत सोमबारदेखि जेनेभामा भइरहेको ‘स्वास्थ्यमा सर्वव्यापी पहुँच, सेवाबाट कोही पनि वञ्चित नहुने’ नाराका साथ १ सय ९४ राष्ट्रका उच्च पदाधिकारी, नीतिनिर्माता एवं स्वास्थ्यकर्मीको सहभागितामा विश्व स्वास्थ्य सम्मेलन भइरहेको छ।
सम्मेलन आगामी मंगलबारसम्म चल्ने छ। सम्मेलनमा नेपालको तर्फबाट उपप्रधानमन्त्री एवंं स्वास्थ्य तथा जनसंख्या मन्त्रीको नेतृत्वमा स्वास्थ्य सचिव चौधरीसहित ७ जनाको सहभागीता रहेको छ।