काठमाडौं - नर्सिङ क्षेत्रको सुधारका लागि १० बुँदे माग राख्दै आमरण अनसनमा बसेकी नर्स जीता बरालले अनसन तोडेकी छिन्। स्वास्थ्य राज्यमन्त्री डा सुरेन्द्र यादवले माग पुरा गर्ने प्रतिबद्धता जनाएपछि नर्स बरालले अनसन तोडेकी हुन्।
नर्स बराललाई जुस पिलाउँदै राज्यमन्त्री यादवले अनसन तोडाएका हुन्। अनसन तोडाउँदै राज्यमन्त्री यादवले नर्सिङ क्षेत्रको सुधारका लागि आफू निरन्तर लागिरहने बताए।
यस्ता छन् बरालका माग
१. विश्व स्वास्थ्य संगठनको नीति बमोजिम नर्स र बिरामीको अनुपात मिलाउनु पर्ने।
२. नर्सहरुको उचित सम्मान गर्दै तहगत पारिश्रमिक तथा सेवा सुविधाको व्यवस्था सबै संस्थाहरुमा गराउने।
३. नर्सिङ परिषदमा रिक्त सबै पदहरुको पदपूर्ति गरी नर्सिङ शिक्षा तथा नर्सिङ सेवाको गुणस्तरियता सुनुश्चित गर्ने।
४. नर्सिङ महाशाखालाई क्रियाशिल बनाइ नर्सिङ पेशालाई व्यवस्थित गर्ने।
५. नर्स तथा अन्य स्वास्थ्यकर्मीमा कुनै प्रकारको विभेद नगर्ने।
६. नर्सको मानव अधिकार स्थापित हुनेगरी कार्यविवरण तयार गरी लागू गर्ने।
७. नर्सहरुमाथि हुने कार्यस्थल हिँसाको विशेष कानुन निर्माण गर्ने।
८. नर्सिङ सेवा सम्बन्धि ऐन निर्माण गर्ने, स्वास्थ्य सेवा ऐन संशोधन गर्ने।
९. प्रत्येक स्थानीयत तह र स्वास्थ्य चौकीहरुमा २४ सै घन्टा सेवा दिन कम्तिमा ४ जना नर्सहरुको दरबन्दी हुनुपर्ने।
१०. संघ, प्रदेश र स्थानीय तहहरुमा नर्सिङको छुट्टै शाखा हुनुपर्ने र संयोजक समेत नर्स हुनुपर्ने।