काठमाडौं- काठमाडौं महानगरपालिकाले ७औं तहका लागि मेडिकल अधिकृतका लागि दरखास्त आह्वान गरेको छ। महानगरपालिकाले गत बुधबार प्रकाशन गरेको आवश्यकताको सूचनामा मेडिकल अधिकृत ७औं तह भनि माग गरेपछि नेपाल चिकित्सक संघले त्यसको विरोध गरेको छ।
संघले शुक्रबार त्यसलाई सच्याउन माग गर्दै महानगरमा पत्र समेत पठाइसकेको छ। संघले स्वास्थ्य सेवा ऐन विपरित आवश्यकताको सूचना निकालेको भन्दै त्यसलाई तत्कालै सच्याउन पत्र पठाएको हो। स्वास्थ्य सेवा ऐन अनुसार मेडिकल अधिकृत ८औं तहका हुन्छन्।
संघले सार्क देशका मापदण्ड अनुसार भारत, माल्दिभ्स, श्रीलंकामा चिकित्सकहरुक शुरुको नियुक्ति ग्राजुयट सेकेन्ड क्लासबाट हुने र पाकिस्तान, बंगलादेशमा ग्राजुयट फस्ट क्लासबाट हुने प्रावधान रही आएकाले नेपालमा ९औं तहबाट हुनुपर्ने माग उठाउँदै आइरहेको सम्बन्धमा नेपाल सरकारले २०६४ सालमा स्वास्थ्य सेवा ऐन संशोधन गरी ८औं तहमा शुरु नियुक्ति दिने प्रावधानलाई कार्यान्वयनमा ल्याइरहेको व्यहोर जानकारी गराउँछौं,’ संघद्वारा बुझाइएको पत्रमा उल्लेख छ।
संघले स्वास्थ्य सेवा ऐनको भावना र मर्म विपरित महानगरले प्रकाशित गरेको सूचना तत्कालै सच्याउन पनि पत्र मार्फत महानगरका कार्यकारी प्रमुखलाई जानकारी गराएको छ।
