काठमाडौं - नेपालमा बर्ड फ्लु (एच५ एन१) बाट एकजनाको मृत्युभएपछि उनको उपचारमा संलग्न डाक्टर, नर्स, स्वास्थ्यकर्मी तथा उनको नजिक रहेका एक सय ७९ जनाको घाँटीको र्याल (थ्रोट स्वाब) नमुना संकलन गरी परीक्षणका लागि जापान पठाइएको छ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जापानको डब्लुएचओ कोलाबोरेटिङ सेन्टर फर इन्फ्लुएन्जा प्रयोगशालामा गत सोमबार नमुना पठाएको हो। महाशाखाले ती व्यक्तिको उपचार गरेका दुई वटा अस्पतालका १ सय ७२ जना कर्मचारी र परिवारका ७ जनाको नमुना पठाएको छ।
बर्ड फ्लुबाट मृत्यु भएका व्यक्तिको नेपाल मेडिकल कलेजको शिक्षण अस्पताल र ओम अस्पतालमा उपचार भएको थियो। काभ्रे घर भई भक्तपुर बस्दै आएका २१ वर्षिया युवाको गत चैत १५ मा उपचारका क्रममा मृत्यु भएको थियो।
बर्ड फ्लु भइरस एक मिटरको दुरीमा अरुमा सर्न सक्छ। हालसम्म यो भाइरस मानिसबाट मानिसमा सरेको प्रमाणित भइसकेको छैन। तर, यो भाइरस मानिसमा सर्न सक्ने भन्दै वैज्ञानिकहरुले सचेत गराउँदै आइरहेका छन्। मानिसबाट मानिसमा भाइरस सरेमा निकै खतरा हुने बताइएको छ।
महाशाखाले यही जोखिमलाई मध्यनजर गर्दै ती व्यक्तिको उपचारमा संलग्न रहेका चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र अस्पतालका अन्य कर्मचारीसहित उनको नजिकका परिवारका सदस्यको नमुना संकलन गरेर जापानमा परीक्षण गर्न पठाएको हो।
युवकको मृत्यु लगत्तै विश्व स्वास्थ्य संगठन, फुड एन्ड एग्रिकल्चर अर्गानाइजेसन, वल्र्ड फुड प्रोगाम, नेपालका चिकित्सक सहित ३५ जनाको टोलीले यो विषयमा अध्ययन अनुसन्धान गरिरहेका छन्। जापानमा नमुना पठाइएकामध्ये कोहीमा पनि शंकास्पद नमुना भेटिएको छैन।
बर्ड फ्लुबाट मृत्यु भएका ती व्यक्तिको नमुना पनि जापानको सोही ल्याबमा पठाइएको थियो।
ती युवा गत चैत १० गते ज्वरो र खोकीको लक्षण लिएर उपचारका लागि अस्पताल पुगेका थिए। उनको र्यालको परीक्षणका लागि टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
उनलाई चैत ११ गते नै इन्फ्लुयन्जाको औषधि दिइएको थियो। तर, स्वासप्रस्वासमा समस्या भइ चैत १५ गते नै उनको उपचारका क्रममा मृत्यु भएको थियो।
उनको मृत्युपछि प्रयोगशालामा परीक्षणका लागि पठाइएको र्यालमा कुन भाइरस हो भन्ने प्रमाणित भएन। त्यसपछि उक्त नमुना परीक्षणका लागि जापा पठाइएको थियो।
उक्त नमुनाको नतिजा गत वैशाख १७ गते मंगलबार नेपाल आएको थियो। नमुनामा बर्ड फ्लु (एच फाइव एन वान) भएको उल्लेख थियो।
त्यसपछि यो खबर कसरी बाहिर ल्याउने भन्ने विषयमा प्रधानमन्त्री कार्यालयमा जानकारी गराइएको थियो। त्यसपछि वैशाख १९ गते स्वास्थ्य मन्त्रालयमा पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको हो।
नेपालमा मानिसमा नै बर्ड फ्लु देखिएको यो पहिलो पटक हो। पछिल्लो दई वर्षयता विश्वभरमा बर्ड फ्लु देखिएको पनि यो पहिलो घटना हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालको मानिसमा नै बर्ड फ्लु देखिएको यो समस्या अन्तराष्ट्रिय चासोको आकस्मिक जनस्वास्थ्य अवस्था हो। नेपाल अन्तराष्ट्रिय हेल्थ रेगुलेसनको पक्ष राष्ट्र भएकाले विश्व स्वास्थ्य संगठनको माध्यमबाट यस विषयमा विस्तृत विवरण पठाउने काम भइरहेको छ।