डडेल्धुरा– प्रमिला राई अमरगढी नगरपालिका–३ मा रहेको घटाल माध्यमिक विद्यालय नुवाकोटमा कक्षा १० मा अध्ययनरत छात्रा हुन्।
उनीसँगै उनका साथीहरू पहिले महिनावारी भएको बेला विद्यालय प्रायः आउँदैनथे। विद्यालयमै महिनावारी भए बिदा लिएर घर फर्कन्थे।
आफ्नो स्वास्थ्य समस्या खुलेर राख्दैनथे। समस्या राख्न डराउँथे, लजाउँथे।
त्यतिबेला स्कुलमा प्याडको व्यवस्था थिएन।
तर, आजभोलि विद्यालयले निःशुल्क सेनेटरी प्याडको व्यवस्था गरेपछि प्रमिला र उनका साथीहरू नियमित विद्यालय आउन थालेका छन्।
विद्यालयमा सेनेटरी प्याड राखेपछि महिनावारी हुँदा कक्षा छाड्नुपर्ने समस्या हटेको राईले बताइन्। ‘महिनामा तीन–चार दिनसम्म कक्षा छुट्दा पढाइमा समस्या थियो,’ उनले भनिन्, ‘अहिले साथीहरूलाई पनि धेरै सजिलो भएको छ।’
प्रमिलासँगै कक्षा १० मा अध्ययनरत महेश्वरी जोशी पनि आजभोलि महिनावारी हुँदा नियमित विद्यालय आउँछिन्।
‘पहिले–पहिले विद्यालयमा प्याडको व्यवस्था थिएन,’ जोशीले भनिन्, ‘महिनावारी भएको बेला निकै समस्या हुने गरेको थियो। महिनावारी भएपछि विद्यालय नगएर घरमै बस्थें। विद्यालयमा महिनावारी भएपछि कसैलाई नसोधेर घरमा आउने गर्थे।’
तर, अब प्याड उपलब्ध भएपछि आफूहरूलाई ढुक्क भएको उनी बताउँछिन्।
अहिले विद्यालयमा हिनावारी भएको अवस्थामा छात्राले महिला शिक्षकसँग सम्पर्क गर्न सक्छन्।
महिला शिक्षकले प्याड उपलब्ध गरानेछन्।
‘अहिले छात्राहरू लाज नमानी हामीसँग सेनेटरी प्याड माग्छन्,’ विद्यालयकी शिक्षिका गीता नाथले भनिन्।
सुरु–सुरुमा उनीहरूलाई समस्या भएपछि प्याड माग्न लजाउने गरेको उनले बताइन्। ‘हामीले महिनावारी भनेको सामान्य समस्या हो, यसमा अप्ठ्यारो मान्नु पर्दैन भनेर सम्झाएपछि छात्राहरू निर्धक्क साथ माग्छन्,’उनले भनिन्।
महिनावारी भएपछि विद्यालय नआउने छात्राहरूको संख्या पूर्णतयाः नियन्त्रण भएको विद्यालयले जनाएको छ।
‘सुरुमा विद्यार्थीबाट ५÷१० रुपैयाँ लिएर सेनेटरी प्याड खरिद गर्ने गरेका थियौं। तर, अहिले निःशुल्क दिने गरेका छौं,’ विद्यालयका प्रधानाध्यापक गणेशबहादुर साउदले भने।
विद्यालयमा सेनेटरी प्याड कहीँ कतैबाट उपलब्ध नभएकाले व्यक्तिगत खर्चबाट जुटाउनुपर्दा निकै समस्या भएको प्र.अ साउदको गुनासो छ।
स्थानीय सरकारको चासो
अहिले हरेक स्थानीय तहमा स्थानीय सरकार छन्। महिनावारी भएको समयमा पनि छात्राहरूलाई नियमित गराउन यहाँका स्थानीय सरकार लागिपरेका छन्।
छात्राहरूको शिक्षामा सहजै पहुँच वृद्धि गर्न र उनीहरूलाई नियमित विद्यालयमा हाजिर गराउन स्थानीय सरकारले चासो दिन थालेका हुन्।
यसका लागि अधिकांश स्थानीय तहले अब विद्यालयमै निःशुल्क रूपमा सेनेटरी प्याड वितरणको योजना बनाएका छन्।
डडेल्धुराको भागेश्वर गाउँपालिकाले केही साताअघि जिल्लामै पहिलो पटक ‘स्मार्ट कार्ड’ प्रयोग गरीे नेटरी प्याड निकाल्ने मेसिन सञ्चालनमा ल्याएको छ। मेसिन राखेपछि छात्रा विद्यार्थीहरूका लागि सहज हुने र उनीहरूलाई पनि सुरक्षित महसुस हुने गाउँपालिकाले जनाएको छ।
जिल्ला सदरमुकाम नजिकै रहेको अमरगढी नगरपालिकाले पनि छिट्टै नगरभित्रका सामुदायिक विद्यालयमा उक्त मेसिन सञ्चालनमा ल्याउने तयारी अन्तिम चरणमा पु¥याएको
नगरप्रमुख विश्वेश्वरप्रसाद ओझाले जानकारी दिए।