जुम्ला- कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले भारतीय पर्यटकको स्वास्थ्य समस्या दृष्टिगत गरी चिकित्सकको टोली हुम्लाको हिल्सा नाकामा खटाएको छ। मानसरोबर जाने भएको पर्यटकको निकै चाप बढेसँगै स्वास्थ्य समस्या न्यूनीकरण गर्न अस्पतालले सो नाकामा चिकित्सक खटाएको हो।
हाई अल्टीच्युडका कारण पर्यटक बिरामी पर्न सक्ने भएकोले कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको सहमन्वय चिकित्सक टोली हिल्सामा खटाइएको हो।
विशेषज्ञ चिकित्सक डा. सूर्यमान लिम्बूका नेतृत्वमा चार जनाको टोलीलाई कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले बिदाई गरेको हो।
टोली नेपालगञ्ज पुगिसकेकोले भोलि नै हिल्सा जाने प्रतिष्ठानका रजिष्टार विश्वराज काफ्लेले जानकारी दिए। उनका अनुसार टोलीमा डा. अभिजित मिश्र, स्टाफ नर्स सावित्री केसी र अहेव नन्द खत्री छन्।
'भारतीय पर्यटकको स्वास्थ्य समस्यालाई दृष्टिगत गर्दै कर्णाली प्रदेश सरकारले चिकित्सकको टोली पठाईदिन पत्राचार गरेको थियो,' रजिष्टार काफ्लेले भने, 'पत्रअनुसार ४ महिनासम्म बस्ने गरी टोली खटाईसकेका छौँ।'
पर्यटकको चाप र स्वास्थ्यलाई ख्याल गर्दै जनशक्ति बढाउन सकिने उनको भनाइ छ। औषधि, अक्सिजन लगायतका उपकरण प्रदेश सरकारले उपलब्ध गराउने भएको छ।
वर्षेनी दमका कारण पर्यटकको मृत्यु भएको खबर सुनिन्छ, यो पटक चिकित्सक टोली पठाएर उपचारको व्यवस्था मिलाइएको छ।
'अब पर्यटकको उपचार सहज बन्छ। स्थानीयले पनि उपचार सेवा उपयोग गर्न पाउने छन्। कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले कार्यक्षेत्रका सबै जसो जिल्लामा विशेषज्ञ सेवा प्रदान गरिरहेको छ,' कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख बिर्खबहादुर शाहीले भने।
सामाजक विकास मन्त्री दल रावलको पहलमा चार महिने शिविर सञ्चालन हुनेछ। वर्षेनी हाई अल्टिच्युड लागेर मानसरोबर जाने तिर्थयात्रीको मृत्यु समेत हुने गरेको छ।
'तिर्थयात्रीको उपचारार्थ चिकित्सक टोली पठाइएको हो,' मन्त्री रावलले भने, 'जनशक्ति व्यवस्थापन कर्णाली प्रतिष्ठानले गरेकोमा अन्य सबै व्यवस्था सामाजिक विकास मन्त्रालयले मिलाएको हो।
यसका साथै पर्यटकको उद्धारका लागि सिमिकोट विमानस्थलमा हेलिकप्टर तयारी हालतमा राखिने समेत उनले बताए। 'कर्णाली सरकार तीर्थयात्रीको स्वास्थ्यप्रति चिन्तित छ,' उनले भने, 'स्थानीय स्तरमा जिल्ला स्वास्थ्य कार्यालयले समन्वय गर्छ।'
यो सिजनमा हिल्सा नाकाबाट दैनिक ३ देखि ४ सयसम्म तीर्थयात्री मानसरोबरका लागि जाने गरेका छन्।