पोखरा– मे महिनाको पहिलो तारिख अर्थात् गत वैशाख महिनाको १८ गते गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री नरदेवी पुनले उद्घाटन गरी सुरु भएको थियो, साइलेन्ट किलरको रुपमा चिनिने रक्तचाप, मधुमेह, मोटोपन जस्ता रोगविरुद्धको महाअभियान।
यो अभियानले मे महिनाभरि गण्डकी प्रदेशका कम्तीमा १० हजार व्यक्तिको रक्तचाप तथा ५ हजारभन्दा बढी ४० वर्ष माथिका व्यक्तिको चिनीरोग र मोटोपना परीक्षण गर्ने लक्ष्य लिएको थियो।
मे मापन महिना अभियान सन् २०१७ बाट सुरुवात भएको हो र यसको नेतृत्व अन्तर्राष्ट्रिय उच्च रक्तचाप समाजले गरेको छ। यो अभियानको लक्ष्य विश्वभर उच्च रक्तचापबारे चेतना अभिवृद्धि गर्नु हो।
गर्त वर्ष यस अभियानमा सयभन्दा बढी देशले भाग लिएका थिए र १२ लाखभन्दा बढी व्यक्तिले रक्तचाप मापन गरेका थिए, जुन विश्वको सबैभन्दा ठूलो रक्तचाप परीक्षण अभियान थियो।
नेपालमा पनि यो अभियान उच्च रक्तचापको समस्यालाई न्यूनीकरण गर्न केन्द्रित छ र यसको नेतृत्व युवा स्वास्थ्यकर्मीहरूले गरेका छन्। राष्ट्रिय रुपमा यो कार्यक्रमको संयोजन नेपाल विकास समाजले गरेको छ भने गण्डकी प्रदेशमा यसको नेतृत्व नेपाल जनस्वास्थ्य संघले लिएको छ।
हालसम्म करिब १ सय ५० भन्दा बढी स्वयंसेवकको परिचालनमार्फत १३ हजारभन्दा बढीको रक्तचाप र ४ हजारभन्दा बढीको मधुमेह र मोटोपनाको मापन गरिसकिएको नेफा गण्डकी प्रदेशका अध्यक्ष सन्तोष पौडेलले बताएका छन्।
यस प्रदेशमा मे महिना भरमा करिब ४० वटा स्थानमा जाँच केन्द्र स्थापना गरिएको थियो। प्रत्येक केन्द्रमा विषेश अभ्यास गराइएका ६ जना स्वास्थ्यकर्मी रहेका छन्, जसले कम्तीमा एक हप्तादेखि महिनाभर स्वेच्छिक रुपमा स्वयंसेवकका हैसियतमा सेवा गरेका थिए।