काठमाडौं– सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको छ। संसदमा अर्थमन्त्री युवराज खतिवडाले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सार्वजनिक गरेको बजेटमा स्वास्थ्य मन्त्रालयलाई ६८ अर्ब ७८ करोड बिनियोजन गरिएको छ।
आगामी आर्थिक वर्षका लागि विनियोजित यो बजेट चालु आर्थिक वर्षभन्दा झन्डै १२ अर्ब बढी हो। चालु वर्षमा स्वास्थ्यले ५६ अर्ब ४१ करोड ९७ लाख बजेट पाएको थियो।
आज सार्वजनिक बजेटमा देशका सबै जिल्लामा स्वास्थ्य बिमा कार्यक्रम विस्तार गर्ने, सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड उपलब्ध गराउने (यो कार्यक्रम भने शिक्षा मन्त्रालयअन्तर्गत रहेको छ), टोल टोलमा नागरिक आरोग्य कार्यक्रम चलाउने, वडा स्तरमा पूर्ण खोप सुनिश्चित कार्यक्रम गर्ने लगायतका छन्।
जनस्वास्थ्य प्रयोगशालालाई विस्तार गर्दै राष्ट्रिय रोग निदान केन्द्र निर्माण गर्ने कार्यक्रम पनि बजेटमा आएको छ। यसका साथै तीन वर्षभित्रमा हरेक प्रदेशमा प्रयोगशाला स्थापना गर्ने कुरा पनि बजेटमा आएको छ।
मातृ तथा बाल स्वास्थ्यका क्षेत्रमा पनि बजेट बढाइएको छ। बलबालिका तथा आमाको पोषणमा सुधार गर्ने कार्यक्रम पनि सञ्चालन हुने बजेट भाषणमा उल्लेख छ।
पाठेघरको मुखको क्यान्सर विरुद्धको खोप कार्यान्वयनमा ल्याइने
आज सार्वजनिक गरेको बजेटमा पाठेघरको मुखको क्यान्सर (सर्भाइकल) रोकथामका लागि सर्भाइकलविरुद्ध खोप कार्यान्वयनमा ल्याउने उल्लेख छ। सरकारले हरेक प्रदेशको एक जिल्ला तोकि ७ जिल्लाबाट खोप लगाउने व्यवस्था गर्ने जनाएको छ।
हाल चितवनमा यो कार्यक्रम पाइलटिङका रुपमा चलिरहेको छ।
‘टोलटोलमा नागरिक आरोग्य कार्यक्रम’
नसर्ने तथा दीर्घ रोगको पहिचान तथा रोकथामका लागि ‘टोलटोलमा नागरिक आरोग्य कार्यक्रम’ सञ्चालनमा ल्याउने छ।
नेपालमा पछिल्ला वर्षमा मुटु, मिर्गौला, मधुमेह, क्यान्सर जस्ता नसर्ने रोगको भार बढ्दै गइरहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा नसर्ने रोगको भार ६० प्रतिशत भन्दा माथि पुगिसकेको छ।
अस्वस्थ जीवनशैली, खानपान, मद्यपान, धुमपान, तनाव जस्ता कारण नेपालमा नसर्ने रोगको भार बढ्दै गएको हो। यसका कारण कलिलै उमेरका युवाहरुमा हृदयाघात, मस्तिष्कघात, मिर्गौला फेल, कलेज सिरोसिस जस्ता रोग बढीरहेको छ।
सरकारले समयमा नै नसर्ने रोगको पहिचान गर्ने, रोग लाग्नै नदिने उपायका लागि संघ, प्रदेश र स्थानीय तहको समन्वयमा ‘टोलटोलमा नागरिक आरोग्य कार्यक्रम’ सञ्चालनमा ल्याउन लागेको हो।
सामुदायिक विद्यालयका छात्रालाई निःशुल्क सेनेटरी प्याड
देशभरका सबै सामुदायिक विद्यालयमा अध्ययनरत छात्राहरुलाई निशुल्क सेनेटरी प्याड उपलब्ध गराइने भएको छ।
नेपालमा महिनाबारी भएको समयमा धेरै छात्रा विद्यालय जादैँनन्। विद्यालयमा महिनावारी हुदाँ हुने विभिन्न समस्या र लाजका कारण बिचमै पढाइ पनि छाड्ने गरेको अवस्था छ।
सरकारले यो व्यवस्था लागू गर्न सकेमा धेरै छात्रालाई विद्यालय जान प्रोत्साहन मिल्ने देखिन्छ। तर, यसको सुरुवात र निरन्तरता भने चुनौतिपूर्ण छ। पछिल्लो समय केही विद्यालयले पनि विद्यालयमा सेटेनटी प्याड उपलब्ध गराउने अभ्यास सुरु गरेका छन्।
विस्तृत केही बेरमा