काठमाडौं - सरकारले सबै प्रदेशमा कम्तीमा एक अस्पतालबाट विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने नीति अनुसार पाँच अस्पतालको स्तरोन्नती गर्न एक अर्ब बजेट विनियोजन गरेको छ।
आगामी आर्थिक वर्षका लागि बुधबार सार्वजनिक गरिएको बजेट भाषणमा उक्त जानकारी दिइएको हो। उक्त बजेट मोरङको कोशी अत्तचल अस्पताल, चितवनको भरतपुर अस्पताल, विरगञ्जको नारायणी उपक्षेत्रिय अस्पताल, बाँकेको भेरी अञ्चल अस्पताल र डडेलधुराको डडेलधुरा उपक्षेत्रिय अस्पतालको स्तरोन्नतीमा खर्च हुनेछ।
मन्त्रिपरिषद्को फागुन ३ गतेको निर्णयले यी अस्पताललाई विशेषज्ञ सुविधा प्रदान गर्ने अस्पतालमा स्तरोन्नती गर्ने निर्णय गरेको थियो।
गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र कर्णालीमा क्षेत्रिय अस्पताल सुर्खेतबाट विशिष्टिकृत स्वास्थ्य सेवा प्रदान गर्ने कार्यक्रम बनाइएको छ।
यसैगरी, निर्माणाधीन अस्पतालहरुको भवन निर्माण सम्पन्न गर्न रु ५ अर्ब ५७ करोड र पन्ध्र शय्याको प्राथमिक अस्पताल स्तरोन्नती गर्न रु १ अर्ब २६ करोड विनियोजन गरिएको छ।