काठमाडौं - पूर्व स्वास्थ्यमन्त्री गगन थापाको अगुवाइमा शनिबार ज्ञानेश्वरमा स्तन र पाठेघरको मुखको क्यान्सरको निःशुल्क परीक्षण शिविर हुने भएको छ।
काठमाडौं निर्वाचन क्षेत्र नं ४ को संसदको कार्यलयमार्फत सांसाद थापाले शिविरको आयोजना गरेका हुन्। शिविर ज्ञानभैरव मार्गमा रहेको सांसदको कार्यालय परिसरमा नै हुने भएको छ।
जीवन बचाउने अभियान अन्तर्गत सांसद थापाको अगुवाईमा काठमाडौंको वडा नम्बर ३० मा हरेक शनिबार यस्तो शिविर हुँदै आइरहेको छ। गत हप्ता मैतिदेवी मन्दिर पछाडी रहेको सनवे इन्टरनेसनल बिजनेस स्कुलमा शिविर भएको थियो। उक्त शिविरमा १ सय ८० जनाले नि:शुल्क सेवा लिएका थिए। जसमध्ये १४ जनामा समस्या भेटिएको थियो।
सांसद थापाको अगुवाइमा सो निर्वाचन क्षेत्रमा पिपुल्स हेल्थ कार्यक्रममार्फत उक्त परीक्षण शिविर गर्न लागिएको हो।
उक्त निर्वाचन क्षेत्र अन्तर्गतको वडा नम्बर ३० मा गत हप्ता भएको सहित १० वटा यस्ता शिविर सञ्चालन हुनेछन्।
क्षेत्र नं ४ को संसदको कार्यलयमार्फत आयोजना हुने उक्त शिविरसँगै सो वडाका प्रत्येक घरको स्वास्थ्य स्थिति सर्वे पनि गरिने जनाइएको छ।
शिविरको मेडिकल सहयोगी नेपाल क्यान्सर रिलिफ सोसाइटी रहेको छ। शिविरलाई कामना सेवा विकास बैंक, मानव स्वास्थ्य र काठमाडौं महानगरपालिका वडा नम्बर ३०ले पनि सहयोग गर्ने छन्।